आजकलको राजनीतिज्ञको बारेमा पढ्दा मलाई उहिलै पढेको कथाको याद आयो जसमा एउटा पुरोहित (बाजे, पन्डित)को चलाखी (धुर्ताता) बयान गरिएको छ | यस कथामा एक जना पुरोहित हुन्छन जो अत्यन्तै चलाख छन् | एक पटक एक जना गाउँका भलाद्मीको घरमा सर्प आएछ | केटाकेटी डराएर हल्ला गर्दा सर्प पनि डराएर ठुंग्न तयार भएछ | त्यहि बेलामा भलाद्मी आएर लौरोले सर्प मारेछन | अब गाउँमा यो कुरा फैलिए पछी पुरोहित बा आएर भनेछन् "हैन यो के अनर्थ गर्नु भएको? नाग देवताको हत्या? घोर पाप लाग्छ तपाईलाई | यसको परिणाम भोग्नै पर्छ तपाईले |" डराएर भलाद्मीले सोधेछन्, "पुरोहित बा! यसको पाप मोचन उपाय छैन?" आफ्नो अस्त्रले काम गरेको देखि पुरोहित मन मनै फुरुङ्ग पर्दै भनेछन् "तपाईले एउटा पुजा लगाउनु पर्छ अनि ब्राह्मण भोजन गराई मनग्गे दक्षिणा दिए यो पाप कट्छ" भलाद्मीले पुरोहित बाले भने बमोजीम गरेछन् | त्यसको केहिदिन पछी तिनै पुरोहित बाको घरमा पनि सर्प आएछ अनि उनले पनि त्यो सर्पलाई लौरोले हिर्काएर मारेछन् | गाउँलेहरु भेला भएर भनेछन्, "लौ! पुरोहित बा तपाईले यो के अनर्थ गर्नु भएको, हामीलाई सम्झाउने मान्छेले पनि आफै नाग देवताको हत्या गर्नु भएको?" पुरोहित बा ले मुस्कुराउदै भनेछन्, "धत् ! यी काँ को नाग देवता हुन् र? यो त आफ्नो पाप कर्मले सर्प योनीमा भट्कीरहेका यक्ष हुन् | मैले यीनको उद्धार पो गरेको |" आज हामी नेपाली जनताहरु पनि यो कथाका गाउँले झै थुप्रै राजनीतिज्ञ पुरोहितका फन्दामा परेकाछौ, सबैले त्यहि कर्म गरिरहेका छन्, आफूले गरे त्यहि राम्रो अरुले गरे नराम्रो |