मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Saturday, August 21, 2010

विद्धुतकणीय पत्र

आज मेरो ब्लगमा मैले मेरो साथी सुरेन्द्र गौतमसंगको विद्धुतकणीय पत्र (इमेल, अब उप्रान्त विपत्र) को आदान-प्रदानमा भएको कुराकानीको केहि अंशलाई राख्ने विचार गरे | यो विपत्रको पहिलो वाक्यले नै मेरो मनमा खुल्दुली जगायो र यो निरन्तर बढ्दै गयो | यस विपत्र पढेर मलाई साह्रै रमाइलो लाग्यो | हुन त मलाई लागेको अनुभव सबै लाई नलाग्न सक्छ तर पनि यो विपत्र पढ्दा आफूलाई मेरो ठाउँमा राखेर पढ्नुहोला | अनि मैले पनि पूर्ण प्रयास गरे कि त्यो विपत्रको जवाफ उत्तिकै खुल्दुली पूर्ण राहोस् | मेरो प्रयास सफल भयो कि भएन मलाई थाहा छैन बरु पढेर थाहा पाउनु भयो भने प्रतिक्रियामा लेखिदिनु होला |

Friday, August 20, 2010

कोहोरी

मलाई त यो रोग नै लग्यो कि क्याहो? बसन्तजीले आफ्नो ब्लग (http://giri25.blogspot.com/2010/07/blog-post_31.html ) मा डराएका थिए कि उनी कुनै कुलतमा त फसेका हैनन् ? म त फेसबुक र ब्लग को दोहोरो मारमा पर्न लागे जस्तो लग्यो | जे होस् अहिले फेसबुकमा रमाइलो भैरहेको छ | मलाई सबै भन्दा राम्रो विनयसंगको "कोहोरी" लागिरहेको छ | फेरी यो "कोहोरी" भन्ने कुन जन्तु पर्यो भन्नु होला, यो "दोहोरी" को साख्खे बहिनी परेपनि यसको "फोहोरी" संग भने पर-परको पनि नाता (भन्छन नि घोडा बेचेको साइनो) पर्दैन | यसको अभ्युदय कसरि भयो यो फेसबुकको जीवन्त "कोहोरी" पढेरै थाहा पाउनुस |

हामी फुटबल हौं

मैले एउटा अर्को कविता ल्याएको छु | यो पटक मेरो आफ्नो नभएर डा. लेखनाथ काफ्लेको | यो कविता मैले फेसबुकमा "नेपाली साहित्य" भन्ने समुहमा गएर पढेको हो र राम्रो लगेर साभार गर्ने अनुमति लिएर यहाँ राख्दैछु | डा. लेखनाथ काफ्लेजी को बारेमा वहाँ ताइवानमा हुनुहुन्छ भन्ने बाहेक थाहा छैन | यो पढेर मैले एउटा प्रतिक्रिया पनि राखेको थिए जुन म मूल कविता भन्दा पहिले राख्दै छु किनकि रसबरी खाएर चिया खाँदा चियाको स्वाद लाग्दैन तर चिया खाएर रसबरी खाँदा केहि फरक पर्दैन |

Thursday, August 19, 2010

वान्कोवरको यात्रा र घुम्टो ओढेकी सुन्दरी - ३: घुमघाम व्हिस्लर पार्क

अगस्त ७, शनिबार | हामी नेपाली साधारणतया ठाउँ घुम्ने भन्दा बढी मान्छे भेट्ने तिर उन्मुख हुन्छौ | म किन बिशेष बन्नु, त्यसैले त्यहाँको नेपालीहरुसंग भेट्ने कार्यक्रम मिलाइयो बिहानको लागि | तर एका बिहानैदेखि सिमसिम पानी परिरहेको थियो | मौसमले साथ नदिएपनि यसलाई सकारात्मक रुपमा लिए | मैले सुनेको थिए यस्तो पानी पर्यो भने साइत बन्छ रे | अब कनाडा आउनु साइत परेको रहेछ भन्ठाने | केहि बेर कुरेर बस्दा पनि पानी नरोकिएपछि अलि अलि भिजिए पनि भिजिओस भनेर हिडियो | कस्तो सन्जोग भेट्ने साथीको नाम पनि माधब नै, अझ माधब नेपाल | अलि घनिष्ठ भएको भए त मैले जिस्काई पनि भ्याउथे, हैन कामचलाउ प्रधानमन्त्री बन्न झ्याउ लागेर यता आउनु भो कि क्याहो भन्दै | फर्केर भात खाँदावर्दा झन्डै दुइ त बजिहालेछ | अनि घुम्न कहाँ जाने भन्ने कुरो भो | वान्कोवरको प्रतिक भनेर चिनिने ठाउँ के छ भनेर सोद्धा त प्राकृतिक सुन्दरता भन्ने जवाफ आयो | अब पहाड, समुद्र, पार्क आदि इत्यादी त सबै तिर हुन्छ वान्कोवर कै भनेर कसरि खुट्याउने? अनि यो बर्ष विन्टर ओलम्पिक भएको ठाउँ नि भन्दा त्यो त झन्डै १ घण्टा पर ह्विस्लर भन्ने ठाउँमा रहेछ | झरी परिरहेपनि ह्विस्लर जाने निधो भयो र साथी माधब (बजगाई) र उनका छोरा अनंग सहित लागियो ह्विस्लर तिर | बाटोमा घरि घरि पानी रोकिएपनि बादल चाही छाटीएन | ह्विस्लरमा पुगेपछि थाहा भो त्यहाँ दुइ वटा डाँडा रहेछ अनि Seven Heaven भन्ने ठाउँ पनि रहेछ | त्यहाँबाट वान्कोवरको दृश्य अत्यन्तै मनमोहक देखिन्छ रे | त्यो डाँडा केवल कार चढेर जानु पर्दो रहेछ | तर हाय रे किस्मत, हामीले त डाँडा को झझल्को पनि पाएनौ | बादलले पुरै डाँडालाई ढाकेको थियो | त्यसैले माथि नजाने विचार गर्यौ | त्यहाँ डर्ट बाइक प्रतियोगिता भैरहेको रहेछ | त्यहि एकछिन हेर्यौ अनि एउटा सानो पर्यटकीय बजार रहेछ त्यो घुमेर फर्क्यौ |

आज पनि कविता

यो कविताको लेखन पनि रोचक भएकोले यहाँ राख्न मन लग्यो | मलाई आशा छ मेरो साथीले यसमा कुनै आपत्ति जनाउदैन | कुरो अगस्त १९ बिहिबार बिहानको हो, यसो स्कुल पुगेर आफ्नो पहिलो काम अर्थात् इन्टरनेटमा चल्ने गर्दै फेसबुक खोल्छु त साथीले मेरो पर्खालमा पो आक्रमण थालेछ | साथीमात्रै गोर्खाली परेनन्, म पनि गोर्खाली नै हूँ क्यारे| अब आइ लाग्ने माथि जाइ लाग्नै पर्यो | उठाए मेरो पनि हतियार, र सुरु गरे प्रत्याक्रमण |

Monday, August 16, 2010

भूपी शेरचन को अपुरो कविता "म"

मैले फेरी एक पटक भूपी शेरचन को "म" भन्ने कविता पढे अनि अहिलेको परिप्रेक्षमा एउटा हरफ छुटेको जस्तो लाग्यो र थपिदिए | वान्कोवर को यात्रा र घुम्टो ओढेकी सुन्दरी को तेस्रो भाग छिट्टै प्रस्तुत गर्ने छु |

मेरो हरफ:
म एक ठग
एक मक्किएको जग
एक निर्मम हत्यारा
भन्नलाई जनताका प्यारा
एक अनैतिक क्रेता
अनि (कुख्यात) नेता
म एक नेता हूँ

साथीहरुले भूपी शेरचनको कविता बिर्सिनु भयो भने यस प्रकार छ:

Sunday, August 15, 2010

वान्कोवरको यात्रा र घुम्टो ओढेकी सुन्दरी - २: गन्तब्य वान्कोवर

यो पटकको गर्मिमा वान्कोवर घुम्न जाने योजना एक पन्थ दुइ काज गर्ने खालको थियो | त्यसैले पनि यो पटकको भ्रमणमा पहिले भन्दा फरक अनुभूति भै रहेको थियो | कता कता मुटु ढुक्क फुलिरहेको जस्तो लाग्थ्यो, भने घरि घरि टाउको गह्रुङ्गो भएको अनुभव हुन्थ्यो | साथ साथै अलिकति रोमान्चित पनि भएको हो कि जस्तो पनि लग्यो | नढाटिकन भन्ने हो भने मलाई यो अनुभवको दुरुस्त बयान गर्न आएन | यस्तो हुनु अनौठो पनि लागेन | किनकि वान्कोवर घुम्न जानुको एउटा कारण मेरो कनाडाको पर्मानेन्ट रेजिडेन्ट बन्ने प्रक्रियाको अन्तिम चरणलाई पूर्णता दिनु पनि थियो | म आफुलाई आफ्नो देश नेपाललाई निक्कै माया गरेको जस्तो लाग्दथ्यो | आज कता कता मेरो माया खोक्रो हो कि भन्ने पनि भान भै रहेको थियो | हुनत म आज कनाडाको नागरिक नै बन्न गैरहेको हैन | म अझै पनि नेपालकै नागरिक हो र म संग नेपालले नै दिएको पासपोर्ट हुन्छ | आफैलाई सम्झाउन मैले द्वापर युगको सहारा लिए | भगवान कृष्ण पनि आफ्नै आमा देवकी हुदाँहुदै पनि यसोदा आमाको काखमा हुर्किन गएकै हुन् क्यारे | परिस्थितिले भगवानलाई त छाड्दैन रहेछ भने म त निरिह मनुवा | जे होस् म पनि प्रवासी नेपाली बन्ने चरणमा प्रवेश गर्दै थिए | यसै क्रममा म रिनोबाट सियाटल पुगीनै सकेको थिए | आज शुक्रबार अगस्त ६, २०१० का दिन म कनाडा प्रवेश गर्दै थिए |

Friday, August 13, 2010

वान्कोवरको यात्रा र घुम्टो ओढेकी सुन्दरी - १: गन्तब्य सियाटल

अहिले नेभाडाको दक्षिणतिरको ठुलो शहर लस भेगासमा संसारभरीबाट सुन्दरीहरु मिस युनिभर्स बन्न भनेर जम्मा हुदैछन् | म भने आफू बसेकै स्टेटमा हुन लागेको सुन्दरीहरुको मेला हेर्न जान छाडेर त्यसको बिपरित उत्तरतिर क्यानाडाको वान्कोवर हान्निने योजना बनाए | त्यसो भनेर म विश्वामित्र नै हुन लागेको भन्न खोजेको भने हैन है | हुन त विश्वामित्र पनि मेनका देखेर मुग्ध भएकै हुन क्यारे | जे होस् फेरी बिषय बस्तुमा प्रवेश गरौ - बिहिबार, अगस्त ५, २०१० वान्कोवर जान भनि बिहान ६ बजे उठियो | जाँदा बिचमा सियाटलमा रातबस्ने योजना थियो | म बसेको ठाउँ रिनो, नेभाडाबाट सियाटल ७०३ माइल (११२५ कि. मि.) उत्तर (थोरै पश्चिम) पर्छ | गुगल गरेर हेर्दा त्यहाँ पुग्न १२ घण्टा ३६ मिनेट देखाउछ | म त्यहाँ बासबस्ने साथीको घरमा ९ बजेको आसपासमा पुग्नुपर्ने थियो | ७ बजे सम्ममा हिडीसक्ने भनेपनि अलमलमै साढेसात त भैगो | गत बर्ष सियाटल गएको बाटो (राजमार्ग ३९५, CA ४४ अनि CA ८९ हुदै I-५) मन नपरेकोले यो पटक अर्को बाटो (राजमार्ग ३९५, CA १३९, CA ३९, OR ९७, अनि OR ५८ हुदै I-५) जाने विचार गर्यौ | थाहा नपाईकनै भएपनि त्यो राम्रो छनौट परेछ | यताको बाटो अलि बढी प्राकृतिक सुन्दरताले भरिएको रहेछ | राजमार्ग ३९५ सजिलो र राम्रो भएकोले "Ladies First" को नियम मानेर श्रीमतीजीलाई गाडीको स्टेरिंग जिम्मा लगाइयो | राजमार्ग ३९५ को पुछारमा पुगेर म चालक भए | CA १३९ देखेर मलाई त झल्झली भरतपुरबाट काठमाडौँ तिर लागेको जस्तो भो | उस्तै घुमाउरो नागबेली बाटो भएपनि यहाँ खाल्डा-खुल्डीको मज्जा भने आएन | बिस्तारै दिन चढ्दै गयो र छिप्पिदै गएको सुर्यले मेरो भ्यानलाई ओभन बनाउदै जान थाल्यो | बाटोछेउमा रुखहरु नभएका हैनन् , तर प्रचण्ड सुर्यको अगाडी निरिह देखिए | धन्य ! बैज्ञानिकहरुले गाडीभित्र बातानुकुलित बनाउने व्यवस्था पनि बनाए | त्यहिँ AC भनाउदोको चिसो हावा खानेकुराहरुसंगै खादै हामी एकनाससँग जंगल भित्रको बाटोमा निरन्तर हुइकिरह्यौ | फाट्ट-फुट्ट बस्तीहरु नआएको भने हैन | हनी ताल, इगल ताल, अपर क्लामाथ तालले बाटोको सुन्दरतामा सुनमा सुगन्ध नै थपिदिएको भान हुन्थ्यो | नपत्याए यो फोटो हेरौ | यो फोटो हिडीरहेकै गाडी बाटै लिएकोले त्यति राम्रो भने आएको छैन | हामीसँग समयाभाव भएकोले ओर्लेर Vista Point बाट हेर्ने र फोटो खिच्ने गरेनौ |

Sunday, August 1, 2010

दुइ कविता

म जब एम. एस्सी. पढ्न रसायनशास्त्र बिभागमा भर्ना भए, मलाई रासायनिक कविता लेख्ने सुर चल्यो | शुरुमा हाम्रो स्वागत तथा सकाएर जान लग्नु भएका को बिदाई को लागि एउटा साझा "स्वागत तथा बिदाई कार्यक्रम" राखिएको थियो | त्यहिँ समारोहमा मैले पहिलो चोटी कविता बाचन गर्ने बिचारले नाम लेखाए; अनि कविता पनि लेखेर लगे | कुनै स्वागत समारोहमा जाँदा मेरो मुटु असाध्यै ढुक-ढुक गरिरहेको पहिलो पटक थियो, जुन असामान्य पनि थिएन | हामी नयाँ बिद्यार्थीहरु सबैलाई आफ्नो परिचय दिन लगाइदै थियो | मैले आफ्नो परिचय पनि काव्यात्मक रुपमा नै दिने विचार गरेर एउटा पानामा कोर्न थाले | धेरैजसो साथीहरुले आफ्नो नाम र घरको बारेमा मात्र भन्दै थिए मैले पनि मेरो नाम र बसाईको बारेमा मात्र भन्ने विचार गरेर एउटा छोटो कविता लेखिभ्याए | आज त्यहि दुइ कवितालाई आजको मेरो ब्लग को रुपमा राख्ने विचार गरे |