मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Friday, August 20, 2010

हामी फुटबल हौं

मैले एउटा अर्को कविता ल्याएको छु | यो पटक मेरो आफ्नो नभएर डा. लेखनाथ काफ्लेको | यो कविता मैले फेसबुकमा "नेपाली साहित्य" भन्ने समुहमा गएर पढेको हो र राम्रो लगेर साभार गर्ने अनुमति लिएर यहाँ राख्दैछु | डा. लेखनाथ काफ्लेजी को बारेमा वहाँ ताइवानमा हुनुहुन्छ भन्ने बाहेक थाहा छैन | यो पढेर मैले एउटा प्रतिक्रिया पनि राखेको थिए जुन म मूल कविता भन्दा पहिले राख्दै छु किनकि रसबरी खाएर चिया खाँदा चियाको स्वाद लाग्दैन तर चिया खाएर रसबरी खाँदा केहि फरक पर्दैन |


मेरो प्रतिक्रिया:

मलाई लाग्छ लेखनाथजी शब्दहरुसंगै बहनु भो
यस कृति मार्फत सम्पूर्ण नेपालीहरुको व्यथा कहनु भो
यी शब्दहरुले हामीहरु सबैको मन छुन्छ
हाम्रो विवशतामा ढुंगाहरुको पनि मन रुन्छ
तर हाम्रा नेताहरु अतिसम्मका पाजी छन्
खल्तीमा पैसा ठुसिदिए आफ्नै आमा पनि बेच्न राजी छन्

मूल कविता :

हामी क्यारेम बोर्डका गोटी हौं
विबेक, आत्म-निर्णय र स्वतन्त्रता खोसिएका
भूपीले भनेथे ।
व्यवस्थाहरू र समय परिवर्तन सँगै
हामीले प्रगति गरेछौं
हामी
क्यारेम बोर्डका गोटीबाट फुटबल भएछौं ।
————————————–
फुटबल,
गतिमा हुँदा जीवन्त हुन्छ
तर
छिटो वा सुस्त
दायाँ वा बायाँ
ओल्तिर वा पल्तिर
सबै कृया
बलले होइन खेलाडीले निधो गर्छन् र ठोक्छन् ड्याम्म ।
————————————–
हामीहरू,
तीन करोड टाउकाहरु, फुटबल बनाइएर
कहिले दक्षिण तिरको पोस्टमा

कहिले उत्तर तिरको मैदानमा घुमाइन्छौ फनफन्त्ति ।
जति गुडे पनि
जति उडे पनि
फ्री किक, कर्नर र पेनाल्टी नै पनि
अरूकै गोल बढाउन
हामी ठोकिन्छौ
नापी-नापी, तौलि-तौलि, यो वा उसको लातले
हाम्रो आफ्नै दिशा, अवस्थिति र सीमा हुँदैन ।
समग्रमा हाम्रो नियति, पक्ष-विपक्षका टाउकाहरुको सनकले निर्धारण गर्दछ ।
फाउल, पहेँलो वा रातो कार्डले
हामीलाई कुनै फरक पार्दैन
फरक त
लातको जोरले पार्छ
कता पुगेर बजारिनु पर्ने हो, त्यसले पार्छ ।
————————————–
हामी
थाक्छौ, कमजोर हुन्छौं, च्यातिन्छौं
काम नै नलाग्ने भएपछि
नयाँ रूपमा फेरी आउँछौ ।
जे जस्तो रूपमा होस्
हाम्रो अन्तिम नियति
अरूको लात द्वारा उत्तर वा दक्षिण पुग्नु मै छ ।
किनकी
हामी
जमिन भाग लगाएर खेलिने खेलको साधन हौं ।
हामी साँच्चिकै फुटबल हौं ।
————————————–
यी तीन करोड टाउकाहरुको
निःशुल्क फुटबल खेल्छन्
अरबौ लातहरूले
छानी-छानी ठोक्छन्, बजार्छन् ।
हामी उछिट्टिनु, ठोक्किनु र उफ्रिनुको पिडा
अरूलाई के थाहा ?
किन कि हामीलाई नै पत्तो छैन
हामी किन र कसका लागी चोट खाँदैछौ ।
हैन, हामी खेलाडी बन्ने कि बल ?
एक दिन
हामीले पनि ती ताता मैदान र चिसा पोस्टहरूमा
अवस्य एउटा गह्रुंगो गोल गर्ने छौं, ड्याम्म
बरु
त्यो दिन कहिले आउला ?
म झर्ने ताराहरू गनेर बस्दै छु त्यही दिनको पर्खाइमा ।
Source: http://www.nepalplus.com/archives/9150

1 comment:

  1. लेखनाथ काफ्लेजी को प्रश्तुति राम्रो लाग्यो, झन् हाम्रै नेताहरुले एक पछि अर्को चमत्कार गर्दै अब बल उसको कोर्टमा गएको भने बिज्ञप्ति दिने गरेकै हो नि त

    ReplyDelete