मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Friday, August 13, 2010

वान्कोवरको यात्रा र घुम्टो ओढेकी सुन्दरी - १: गन्तब्य सियाटल

अहिले नेभाडाको दक्षिणतिरको ठुलो शहर लस भेगासमा संसारभरीबाट सुन्दरीहरु मिस युनिभर्स बन्न भनेर जम्मा हुदैछन् | म भने आफू बसेकै स्टेटमा हुन लागेको सुन्दरीहरुको मेला हेर्न जान छाडेर त्यसको बिपरित उत्तरतिर क्यानाडाको वान्कोवर हान्निने योजना बनाए | त्यसो भनेर म विश्वामित्र नै हुन लागेको भन्न खोजेको भने हैन है | हुन त विश्वामित्र पनि मेनका देखेर मुग्ध भएकै हुन क्यारे | जे होस् फेरी बिषय बस्तुमा प्रवेश गरौ - बिहिबार, अगस्त ५, २०१० वान्कोवर जान भनि बिहान ६ बजे उठियो | जाँदा बिचमा सियाटलमा रातबस्ने योजना थियो | म बसेको ठाउँ रिनो, नेभाडाबाट सियाटल ७०३ माइल (११२५ कि. मि.) उत्तर (थोरै पश्चिम) पर्छ | गुगल गरेर हेर्दा त्यहाँ पुग्न १२ घण्टा ३६ मिनेट देखाउछ | म त्यहाँ बासबस्ने साथीको घरमा ९ बजेको आसपासमा पुग्नुपर्ने थियो | ७ बजे सम्ममा हिडीसक्ने भनेपनि अलमलमै साढेसात त भैगो | गत बर्ष सियाटल गएको बाटो (राजमार्ग ३९५, CA ४४ अनि CA ८९ हुदै I-५) मन नपरेकोले यो पटक अर्को बाटो (राजमार्ग ३९५, CA १३९, CA ३९, OR ९७, अनि OR ५८ हुदै I-५) जाने विचार गर्यौ | थाहा नपाईकनै भएपनि त्यो राम्रो छनौट परेछ | यताको बाटो अलि बढी प्राकृतिक सुन्दरताले भरिएको रहेछ | राजमार्ग ३९५ सजिलो र राम्रो भएकोले "Ladies First" को नियम मानेर श्रीमतीजीलाई गाडीको स्टेरिंग जिम्मा लगाइयो | राजमार्ग ३९५ को पुछारमा पुगेर म चालक भए | CA १३९ देखेर मलाई त झल्झली भरतपुरबाट काठमाडौँ तिर लागेको जस्तो भो | उस्तै घुमाउरो नागबेली बाटो भएपनि यहाँ खाल्डा-खुल्डीको मज्जा भने आएन | बिस्तारै दिन चढ्दै गयो र छिप्पिदै गएको सुर्यले मेरो भ्यानलाई ओभन बनाउदै जान थाल्यो | बाटोछेउमा रुखहरु नभएका हैनन् , तर प्रचण्ड सुर्यको अगाडी निरिह देखिए | धन्य ! बैज्ञानिकहरुले गाडीभित्र बातानुकुलित बनाउने व्यवस्था पनि बनाए | त्यहिँ AC भनाउदोको चिसो हावा खानेकुराहरुसंगै खादै हामी एकनाससँग जंगल भित्रको बाटोमा निरन्तर हुइकिरह्यौ | फाट्ट-फुट्ट बस्तीहरु नआएको भने हैन | हनी ताल, इगल ताल, अपर क्लामाथ तालले बाटोको सुन्दरतामा सुनमा सुगन्ध नै थपिदिएको भान हुन्थ्यो | नपत्याए यो फोटो हेरौ | यो फोटो हिडीरहेकै गाडी बाटै लिएकोले त्यति राम्रो भने आएको छैन | हामीसँग समयाभाव भएकोले ओर्लेर Vista Point बाट हेर्ने र फोटो खिच्ने गरेनौ |

इगल ताल

अपर क्लामाथ ताल

बाटो छेउका पार्कहरुमा अडिदै, खादै हामी पोर्टल्याण्ड नजिक त्यस्तै ४ बजेतिर पुग्यौ | तर पोर्टल्याण्डमा अफिस टाइमको ट्राफिक जाममा नराम्रो सँग फसियो | "पाउरोटी नल्याएकोमा साह्रै थकथकी लग्यो, अहिले यो सित्तै पाएको जाम संग पाउरोटी खान कत्ति मज्जा हुन्थ्यो भन्दै" बाटो कटाउने मेसो गरियो | हामीलाई पोर्टल्याण्ड काट्न २ घण्टा भन्दा बढिनै लग्यो |

पोर्टल्याण्डको केवल कार (बाटोको साइनबोर्ड माथि सानो क्याप्सुल जस्तो)


पोर्टल्याण्ड डाउनटाउन र छेउमै बगेको निर्मल कोलम्बिया नदी

पोर्ट ल्याण्ड कटेर सियाटल पुग्दा झन्डै साढे नौ नै भैसकेको थियो | हाम्रो लागि साथी निल, माया र छोरी इसा आँखा बिछ्याएर बसिरहनु भएको थियो | थरि थरिको परिकार तयार थियो | त्यत्रो लामो बाटो हिडेर तात्तातो मासु-भात खान पाउँदा कुन चाही नेपालीको हृदय हर्षले गद्-गद नहोला र ? हामीलाई हार्दिक स्वागत गर्दै बस्न-खान दिनुभएकोमा आभार प्रकट गर्दै वहाँहरुलाई मुरी-मुरी धन्यवाद दिदै भोलिपल्ट बिहान साढे नौ बजे तिर वान्कोवरको लागि प्रस्थान गरियो |

शिर्षक "वान्कुवर र घुम्टो ओढेकी सुन्दरी" कतिको सार्थक छ भन्ने कुराको निर्णय अर्को भाग पढेर मात्रै गर्नु होला .......

5 comments:

  1. दाईको वान्कुवर यात्रा वृतान्त रमाइलो लाग्यो तर आश्रयको कुरो त परा-पुर्व कालमा जहिले पनि प्राकृतिक सुन्दरताले भरिएको उर्वर घुम्तीहरुमा आफुलाई बिर्सी दिने मान्छे कसरी खुरु-खुरु वातानुकुलित कारबाट फोटोहरु खिच्दै मात्र अगाडी बढ्नु भो होला नि है !

    ReplyDelete
  2. हो विनय दार्सबले भेनेको कुरा सोर्है आना सहि हो..... तर समय बलवान छ ......... डाँका त बाल्मिकी बन्छन भने म बबुरो गाडीबाट नओर्ली सरासर जानु कुन ठुलो कुरो हो र .........

    ReplyDelete
  3. ल सुनिल सर राम्रो छ नियात्रा लेखन्। अरको भाग को प्रतिक्षा मा .....

    ReplyDelete
  4. धन्यवाद | नेपाली नाबिर्सियोस भनेर यसो कोरकार गरेको मात्रै हो...

    ReplyDelete
  5. नेपाली मातृभाषा भएका विद्वानले त यसो भन्छ भने म जस्ताको के हाल हुने हो ! यात्रा गर्दैमा पनि नेपाली बिर्सने हो कि !

    ReplyDelete