मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Saturday, March 28, 2015

ट्वाक्क-टुक्क

जीवन गणित जस्तो सरल छैन
कृष्णको पूर्णबाट जति झिके पनि पूर्ण नै रहन्छ
बुद्धको शुन्यमा जति थपे पनि शुन्य नै रहन्छ
भने अष्टाबक्रको पूर्ण नै शुन्य हो
अनि शुन्य नै पूर्ण

ट्वाक्क-टुक्क

Happy Ram Nawami
कर्ता हैन द्रष्टा
त्यागी हैन बैरागी
बुद्धि हैन ज्ञान
बिषय हैन ध्यान
जय श्री राम
जय श्री राम

Friday, February 27, 2015

जीवन र Chemistry

मैले मनमा उठ्ने तरङ्गलाई शब्दमा पस्कने कोशिस हो यो लेख वा भनौ गन्थन | यो सत्य हो या असत्य हो आफैले ठम्याएर सुधार्ने-सच्याउने जे गर्नु पर्छ आफै गर्नु होला | कृपया मलाई ताली अथवा गाली दिने कष्ट नगर्नुहोला |

आजकाल म सामान्य रुपमा भन्नु पर्दा बौलाउन लागेको छु भन्दा हुन्छ | बिज्ञानको अनुसंधान रुपी समुद्रमा डुबुल्की लाएर आजित भै बल्ल तल्ल किनारमा आएर सुस्ताउदा, जब केहि सास फर्के जस्तो भयो र पर कही क्षितिजमा केहि टल्केको जस्तो लग्यो | मेरो बेहोसीको कारणले भएको भ्रम पो होकी जस्तो पनि लग्यो | तर बुझ्दै जादा त्यो आध्यात्म हो भन्ने थाहा भयो | भन्छन् नि कुकुर को पुच्छर बाह्र बर्ष ढुम्रोमा राख्दा पनि बांगो को बाङ्गै, लागेको बानी सजिलै कहाँ छुट्छ? यो आध्यात्म के हो, अब यसमै अनुसंधान गर्न मन लग्यो | सामान्य रुपमा हेर्दा जति सरल देखिन्छ गहिरिएर हेर्दा उतिनै क्लिष्ट छ | आफू त परियो chemist, नानी देखि लागेको बानी, समिकरण नभेटी अगाडी नबढ्ने | खोज्दै जाँदा एउटा समीकरण भेटीहाले |

मानिस    +     आध्यात्म       ------------->       मोक्ष

लौ गज्जब ! मानिस त भैहाले अब बाँकि रह्यो आध्यात्म; Good Starting is Half Done भन्ने सुनेथे, झन् यहाँ त आधा भैसकेको | भनेपछि त नेपाली पारामा भन्नु पर्दा झन्डै काम नै सकिनै लागेको | मख्ख परे, यो आध्यात्मलाई मन्दिरहरुको कुनाकाप्चामा यसो दुइचार बर्षमा खोजौला, अनि त पाई हालियो नि मोक्ष | परापूर्व कालमा बिचरा ऋषी-मुनिहरुले यति जाबो मोक्ष पाउन बेकारमा बर्षौ जंगलमा बिताए |

मानिस हुनुमा मलाई अलिकति पनि शंका थिएन | म गौरवान्वित थिए कि म मानिस त हु नै | तर मेरो नराम्रो बानी, नयाँ किताब पढ्दा मलाई पहिलो पृष्ठ हैन गाता (cover page) बाटै शुरु गर्न मन लाग्छ | कतिवटा किताबको त गाताबाट शुरु गरेर प्राक्कथन भन्दा उभो नै पढेको छैन | आफ्नै बानी अनुसार मन लागि नलागी भएपनि मानिसबाटै शुरु गरे |

पहिलो गाँस मै ढुंगा | जुन मानिस हुनुमा मलाई गर्व थियो, त्यो गर्व हुनु नै मोक्षको बाटोको तगारो  रहेछ | गर्व त अहंकारको बाल रुप पो हो अरे | संसारमा सबथोकको बच्चा मनमोहक हुने भएकोले अहंकारको पनि बलावास्था राम्रो देखिएको रे |  समय र परिस्थिति संगै झ्याङ्गीएर गर्व नै घमण्ड र अहंकार बन्दो रहेछ | लौ फेरी अर्को समीकरण -

                   समय, परिस्थिति
गर्व  ----------------------------------------->  घमण्ड    +     अहंकार

जति ठुलो आवाजले गर्जेर "म" भन्यो त्यतिनै बलियो "तँ" जन्मन्छ अरे | अनि जति बढी अहंकारी भो उति नै जोडले "म" भन्ने गर्छ रे |  "म" लाई जति प्रष्ट बनाउदै लग्यो, संसार उति नै गाढा हुदै जान्छ रे | संसार जति गाढा हुदै गयो, मानिस त्यतिनै सांसारिक हुने गर्छ र साथ-साथै उति नै परमात्मा अनि मोक्षसंग टाढिदै जान्छ रे | संसार प्रष्ट भए, मोक्ष अनिश्चित; मोक्ष नजिक गए संसार नाश्वर | ओहो ! यो त "Heisenberg's uncertainty principle" संग मेल खायो नि जस अनुसार "Any two variables that do not commute cannot be measured simultaneously—the more precisely one is known, the less precisely the other can be known". लौ बिज्ञानको सिद्धान्त त जीवनमा पनि मेल खाला जस्तो लग्यो | उसोभए "म" भाव (अहंकार) त्यागे स्थिरता (शाश्वत) तिर लागिन्छ भन्ने सिद्धान्त chemistryमा लागु हुन्छ कि हुदैन त? आफूले पढेको बिषय "Organic Chemistry" भएकोले पहिले "Organic Compound" बाटै शुरु गर्नु पर्यो |

चिनी पानी राख्यो भने घोलिंछ त्यसरी नै नुन पनि घोलिंछ | तर चिनी घोलिंदा नटुक्रिकन घोलिएको हुन्छ भने नुन चाही सोडियम र क्लोराइड दुईवटा टुक्रामा परिणत भएको हुन्छ | अर्थात् चिनीमा स्थाईत्व छ नुनमा छैन |

समयाभाव ले गर्दा यो लेख पुरा गर्न सकिन पुनः आउने छु ....

Thursday, February 26, 2015

आफ्नै खोज

भन्दछन् ज्ञान छ जता-त्यतै छताछुल्ल
तर किन हो कुन्नि म त भए अति नै रनभुल्ल

भएभरका शास्त्रहरुमा ज्ञान नै त भरिएका छन्

गीता रामायण सबतिर ज्ञानकै त कुरा गरिएका छन्
बाइबल अनि कुरानमा पनि त ज्ञान नै भरिएको छ अरे
तर कसैले पनि भन्न सक्दैन के हुने हो भरे

अहिले सम्म त छु तर भरे को के छ र भर

एक छिनमै खुशी हुन्छु एक छिनमै लाग्छ डर
को हु म, कहाँ छु म, फेरी के हो यो मन
दिमाग मनसंग बाझ्छ कोहि त केहि भन

नपाउदा सम्म ठुलो देख्छु पाएपछि फुस्स

धेरै परिश्रमले पनि पाएन भने यै मन हुन्छ ठुस्स
म भित्रै द्वन्दात्मक विचार फेरी कहांबाट आयो
म एक हो भने, यो एक भित्रै आगो कसले लायो

कहाँबाट आए म,फेरी भोलि जाने हो कहाँ

यसबारेमा सायदै कसैलाई थाहा होला यहाँ
कहिले त लाग्छ कसैले भन्दे हुन्थ्यो
तिनको प्रष्ट बचनले त सायद यो मन छुन्थ्यो

मेरो विचारमा त सायद कोहि पनि छैनन् प्रष्ट

खै मेरै अहंकार पो हो कि सबैलाई देख्छु म भ्रष्ट
अष्टावक्र भन्छन बन द्रष्टा, नबन तिमी कर्ता
परमात्मा हुनेछौ तिमी मिट्नेछ सम्पूर्ण सुर्ता

फेरी कोहि भन्छन गर तिमी पूर्ण समर्पण

यसबाटै हुनेछौ तिमी आफ्नै दर्पण
जति गुने पनि यी सब कुरा खै कता हो कता गा'छ
सुन्दा बुझेजस्तो लागेपनि सुगा रटान मात्र भा'छ

जति बुझ्न खोज्यो उति नै प्रश्न थपिदै जान्छ

प्रश्नको बाढीमा दिमागले आफैलाई बौलाहा ठान्छ
मेरो प्रश्नहरु के साच्चैनै मनमा गुन्नु भो
अथवा साच्चैनै मलाई बौलाहा ठान्नु भो

भन्दछन् ज्ञान छ जता-त्यतै छताछुल्ल

तर किन हो कुन्नि म त भए अति नै रनभुल्ल

Tuesday, February 11, 2014

ट्वाक्क-टुक्क

एउटा चाही चर्मचक्षु अर्को पर्यो ज्ञान
ज्ञान चक्षु खोल्नलाई गर्न पर्छ ध्यान
यसैलाई कसै-कसैले भन्ने गर्छन तपस्या

ध्यान केन्द्रित गर्न भने पर्छ ठूलो समस्या

म पनि भौतरिएर अलिक दिक्कै छु
के छ भनि सोध्दा चाही भन्छु ठिकै छु
जिन्दगीको बिस्तारै बिस्तारै खुइलिदै छ रङ्ग
आफन्तलाई फेसबुकमा भेटि म पनि हुन्छु दङ्ग

Monday, February 10, 2014

नैतिक दृष्टान्त

- कविशिरोमणि लेखनाथ पैाड्याल

कसैको लोकमा छैन, एकैनास समुन्नति
अरूको के कुरा हेर, सन्ध्यामा सूर्यको गति ।
छोटो बढेपछी भारी फूर्ति ढाँचा बढाउछ
उर्लदो खहरे हेर, कत्तिको गड्गडाउँछ ।
सानै देखि छुचो हुन्छ दुष्ट मानिसको मति
घोच्ने ती जंगली काँढा पहिले देखि नै तिखा कति ।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर
फलेको  वृक्षको हाँगो नझुकेको कहाँ छ र ।

Saturday, January 28, 2012

सरस्वती बन्दना

आज सरस्वती पूजाको दिन केहि नभए पनि दुई वटा सरस्वती बन्दनाहरु राख्न मन लाग्यो |
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥१॥
प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थ हंसवाहनी ॥२॥
पंचम तु जगन्माता षष्टम् वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टम् वरदायिनी ॥३॥
नवमं वद्धिदात्री च दशमं ...वह्मचारिणी ।
एकादशं चन्द्रघन्टा द्धादशं भुवनेश्वरी ॥४॥
द्धादशैतानि नामानि त्रिसन्ध्यं यःपठेन्नर ।
जिह्वाग्रे वसति तस्य वह्मरुपा सरस्वती ॥५॥
या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||
या ब्रह्माच्युतशंकरप्रभ्रृति
भिर्दे
वै: सदा वन्दिता |
सा मां पातु सरस्वती भगवती नि:शेष् जाड्यापहा ||

Monday, January 23, 2012

सिस्नोको बोटमा तिउरी फुल्दैन (सिउडीको बोटमा सुनगाभा फुल्दैन )

मैले कथा लेख्छु भनेर आधा लेखि छाडेको त एक बर्ष भन्दा पनि बढी भैसकेछ | निक्कै पछी फेरी ब्लगमा फिर्ता आए | अब नियमित हुने कोशिस गर्छु | पहिले आधा कथा पुरा गरौ है |
पुरानो पोस्ट सहित:
मलाई एउटा कथा लेख्न मन लागेको धेरै भो | तर यो लेख्ने काम गर्न पनि त्रिपुर नै जोडिनु पर्ने जस्तो हुदो रहेछ | मलाई कथा समय सापेक्ष पनि होस्, यसले मन (भावना) पनि छोओस्, र यसले तितो यथार्थलाई पनि अंगालोस् जस्तो लागेको थियो | फेरी यो ब्रम्हाजीको उत्कृष्ट रचना "ऊँट" जस्तो हुने पो हो कि भन्ने डर पनि लागि रहेको छ | थाहा नभएको साथीहरुलाई यहि ऊँट कै पनि कथा छोटकरीमा भन्दिहालौ | ब्रम्हाजीलाई एकपटक सर्वगुण सम्पन्न राम्रो जीव सृष्टि गर्न मन लागेछ | राम्रो आँखा, अग्लो, अनिकालमा पनि बाँच्न सक्ने आदि इत्यादी सबै गुण राखेर बनाउदा त ऊँट पो बनेछ | खैर यो मेरो रचना चाही ऊँट भयो कि हात्ती छुट्याउने जिम्मा पढ्नेलाई नै | यस कथामा मैले जोगीमारा भैरहने दुर्घटनाको सन्दर्भ राखे पनि यसको बास्तविक कारण भने कथामा भएको जस्तो होइन, भैहाले पनि त्यो मात्र एक संयोग हुनेछ | फेरी यो कथामा मैले समयलाई धेरै ध्यान दिएको छैन, भन्नाले पृथ्वी राजमार्ग बनाएको समय वास्तविक भन्दा फरक (कम) छ | यो कथा लामो बनाउने इच्छा हुदाँहुदै पनि छोटो लेख्दैछु विभिन्न कारणले; छोटोमा गल्ति भै हाले पनि थोरै हुने, अनि मेरो टाइप गर्ने अनि साथीहरुको पढ्ने समय पनि बच्ने; पशुपतिको यात्रा पनि हुने सिद्राको व्यापार पनि हुने | अब यो गन्थन छाडेर कथा तिर जाऊ |

Tuesday, November 29, 2011

8 of the World’s Healthiest Spices & Herbs You Should Be Eating

I read this article in yahoo news and found interesting. Thinking the information be useful, I copied it here. If you want to read the original visit the link mentioned as source. Thanks.

Saturday, April 23, 2011

दोहोरो मापदण्ड

आजकलको राजनीतिज्ञको बारेमा पढ्दा मलाई उहिलै पढेको कथाको याद आयो जसमा एउटा पुरोहित (बाजे, पन्डित)को चलाखी (धुर्ताता) बयान गरिएको छ | यस कथामा एक जना पुरोहित हुन्छन जो अत्यन्तै चलाख छन् | एक पटक एक जना गाउँका भलाद्मीको घरमा सर्प आएछ | केटाकेटी डराएर हल्ला गर्दा सर्प पनि डराएर ठुंग्न तयार भएछ | त्यहि बेलामा भलाद्मी आएर लौरोले सर्प मारेछन | अब गाउँमा यो कुरा फैलिए पछी पुरोहित बा आएर भनेछन् "हैन यो के अनर्थ गर्नु भएको? नाग देवताको हत्या? घोर पाप लाग्छ तपाईलाई | यसको परिणाम भोग्नै पर्छ तपाईले |" डराएर भलाद्मीले सोधेछन्, "पुरोहित बा! यसको पाप मोचन उपाय छैन?" आफ्नो अस्त्रले काम गरेको देखि पुरोहित मन मनै फुरुङ्ग पर्दै भनेछन् "तपाईले एउटा पुजा लगाउनु पर्छ अनि ब्राह्मण भोजन गराई मनग्गे दक्षिणा दिए यो पाप कट्छ" भलाद्मीले पुरोहित बाले भने बमोजीम गरेछन् | त्यसको केहिदिन पछी तिनै पुरोहित बाको घरमा पनि सर्प आएछ अनि उनले पनि त्यो सर्पलाई लौरोले हिर्काएर मारेछन् | गाउँलेहरु भेला भएर भनेछन्, "लौ! पुरोहित बा तपाईले यो के अनर्थ गर्नु भएको, हामीलाई सम्झाउने मान्छेले पनि आफै नाग देवताको हत्या गर्नु भएको?" पुरोहित बा ले मुस्कुराउदै भनेछन्, "धत् ! यी काँ को नाग देवता हुन् र? यो त आफ्नो पाप कर्मले सर्प योनीमा भट्कीरहेका यक्ष हुन् | मैले यीनको उद्धार पो गरेको |" आज हामी नेपाली जनताहरु पनि यो कथाका गाउँले झै थुप्रै राजनीतिज्ञ पुरोहितका फन्दामा परेकाछौ, सबैले त्यहि कर्म गरिरहेका छन्, आफूले गरे त्यहि राम्रो अरुले गरे नराम्रो |

Saturday, November 6, 2010

समय अनुसार बदलिदो सुर

भानुभक्तको बेलामा यसो भनिन्थ्यो :

भरजन्म घाँसतिर मन दिइ, धन कमायो
नामै क्यै रहोस भनि, कुवा खनायो
घाँसी दरिद्र तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन पनि आज यस्तो

समय बदल्यो, अनि सुर पनि बद्ल्यो | अब हाम्रो पालामा यस्तो भनिन्छ:

Monday, October 25, 2010

जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

मैले इन्टरनेटको समाचार र ब्लगहरु चाहार्दा पढेका प्रतिक्रियालाई संछेपीकरण गर्दा के निर्क्योल निकाले भने धेरै नेपालीहरु देशका लागि केहि गर्न चाहन्छन् तर मेसो नपाएर अथवा हौसाउने नपाएर लाचार भएका छन् | अब यसलाई केमेस्ट्रीको भाषामा भन्नु पर्दा "क्याटलिस्ट" को कमि हो कि जस्तो पनि लाग्यो | त्यसैले मैले मेरो ब्लगमा केहि पौरखी व्यक्तिहरु, जसले नेपालको लागि केहि गरे, लाई पनि ठाउँ दिने विचार गरि यो नया सृंखला "जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी" सुरु गर्दै छु | यसले एक जना मात्रै भएपनि देशको लागि केहि गरौ भन्ने लाई "क्याटलाइज" गर्न सक्यो भने मेरो यो सृंखला को उद्देश्य सफल भएको ठान्ने छु | अब म आफै पत्रकार अथवा पत्रकारिता सम्बन्धित व्यक्ति नभएकोले वहाँहरुको बारेमा यहि इन्टरनेटबाटै बटुलेका सामग्रीहरु पस्कनेछु |

Friday, October 15, 2010

देशका कर्णधार

मलाई आज पनि खै किन हो किन धेरै पहिले पढेको एउटा हिन्दी कविता (तुक्का) याद आयो | यो कविता मैले लेखेर नराखेकोले यसको स्रोत र समय ठ्याक्कै थाहा भएन | म त्यस्तै ६-७ कक्षा पढ्थे | घरमा रविवार्ता, दिनमान, धर्मयुग, सरिता, मुक्ता जस्ता हिन्दी पत्रिका आउथ्यो | तिनै मध्ये कुनैमा पढेको हुनु पर्छ | फेरी यो शब्द-शब्द याद भएर लेखेको पनि हैन, भावार्थ मिलाउन खोजेको मात्रै हो | जे होस् कविता यस प्रकार छ-

मेरा पहला बेटा
डाक्टर हो के बीमार हो गया
मेरा दूसरा बेटा
इंजिनियर हो के लाचार हो गया
मेरा तीसरा बेटा
साहित्यकार हो के बेकार हो गया
मेरा चौथा नालायक बेटा
नेता बनके देशका कर्णधार हो गया |

Wednesday, October 13, 2010

मपाईं

मलाई भैरव अर्यालको व्यंग्य सार्है राम्रो लाग्छ | उनको व्यंग्यले घोचेर लडेकाहरु पनि पेट मिचिमिची हाँसिरहेका हुन्छन, यस्तो लाग्छ कि कसैले उसलाई नाईट्रस अक्साइड (हसाउने वायु) सुँघाएर हिर्काएको होस् | आफ्नो पाठ्यपुस्तक पढ्न उत्तिको रुचिकर नलागेता पनि उनको जयभुँडी आइ. एस्सी. को पाठ्यपुस्तक नै भएपनि चाख मानी मानी पढेको मैले अझै पनि बिर्सेको छैन | उनको एउटा व्यंग्य "मपाई" मलाई सान्दर्भिक भएको जस्तो लगेर यहाँ साभार गर्दै छु | भैरव अर्यलकै शब्दहरु सापट लिएर भन्नु पर्दा मपाईंत्व एक नशा हो, यसले लट्ठयाएपछि कक्टेल पार्टीका श्रीमानहरुले झैं सब मपाईंहरु एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन्। सम्झनुभएन? राम र रावणको मपाईंत्व बजारिएर लङ्का डढयो, भीम र दुर्योधनको मपाईंत्व चर्केर कुरुक्षेत्र बन्यो। यस्तै मपाईं मपाईंको चर्काचर्कीमा हिरोशिमामा एटम बम पड्क्यो, त जर्मनी खड्गीज्यूकहाँको बनेल बन्यो। अब नेपाल चाही के बन्ने हो समयले मात्रै बताउन सक्छ, म त सक्दिन |

Tuesday, October 12, 2010

6 doctor-recommended sleep aids

साभार:
http://www.cnn.com/2010/HEALTH/10/12/rs.sleep.aids/index.html?hpt=C2
By Eleni N. Gage, RealSimple.com
October 12, 2010 8:28 a.m. EDT

मेहनत गरेपछि थाकिन्छ, त्यसपछि राती मस्तसंग सुत्यो; सबै थकान मेटेर भोलि बिहान तरो-ताजा भएर उठ्यो | सुन्दै आनन्द आउने कस्तो मज्जा, तर यस्तो दैनिकी सधै सबैको हुदैन | कसैकसैलाई कहिलेकाही जति कोल्टे फर्केपनि निद्रादेवीले ग्वाम्म अंगालो हाल्न आउदिनन् | भोलिको दिन त बेकार नै जान्छ | त्यस्तो बेलामा यो लेखले केहि मद्दत गर्न सक्छ कि भनेर यहाँ राख्दैछु | यसमा भएको बिज्ञापनको सत्यता मैले परिक्षण गरेको छैन अर्थात मैले यहाँ भनेको लिंकबाट एउटा पनि सामान अथवा औषधि किनेको छैन | र यो लेख पढ्नु अघि मलाई मेलाटोनिन बारेमा मात्रै थाहा थियो जुन सामान्यतया सबै स्टोरहरूमा भेटिन्छ जस्तै Costco, Walmart आदि|