मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Monday, January 23, 2012

सिस्नोको बोटमा तिउरी फुल्दैन (सिउडीको बोटमा सुनगाभा फुल्दैन )

मैले कथा लेख्छु भनेर आधा लेखि छाडेको त एक बर्ष भन्दा पनि बढी भैसकेछ | निक्कै पछी फेरी ब्लगमा फिर्ता आए | अब नियमित हुने कोशिस गर्छु | पहिले आधा कथा पुरा गरौ है |
पुरानो पोस्ट सहित:
मलाई एउटा कथा लेख्न मन लागेको धेरै भो | तर यो लेख्ने काम गर्न पनि त्रिपुर नै जोडिनु पर्ने जस्तो हुदो रहेछ | मलाई कथा समय सापेक्ष पनि होस्, यसले मन (भावना) पनि छोओस्, र यसले तितो यथार्थलाई पनि अंगालोस् जस्तो लागेको थियो | फेरी यो ब्रम्हाजीको उत्कृष्ट रचना "ऊँट" जस्तो हुने पो हो कि भन्ने डर पनि लागि रहेको छ | थाहा नभएको साथीहरुलाई यहि ऊँट कै पनि कथा छोटकरीमा भन्दिहालौ | ब्रम्हाजीलाई एकपटक सर्वगुण सम्पन्न राम्रो जीव सृष्टि गर्न मन लागेछ | राम्रो आँखा, अग्लो, अनिकालमा पनि बाँच्न सक्ने आदि इत्यादी सबै गुण राखेर बनाउदा त ऊँट पो बनेछ | खैर यो मेरो रचना चाही ऊँट भयो कि हात्ती छुट्याउने जिम्मा पढ्नेलाई नै | यस कथामा मैले जोगीमारा भैरहने दुर्घटनाको सन्दर्भ राखे पनि यसको बास्तविक कारण भने कथामा भएको जस्तो होइन, भैहाले पनि त्यो मात्र एक संयोग हुनेछ | फेरी यो कथामा मैले समयलाई धेरै ध्यान दिएको छैन, भन्नाले पृथ्वी राजमार्ग बनाएको समय वास्तविक भन्दा फरक (कम) छ | यो कथा लामो बनाउने इच्छा हुदाँहुदै पनि छोटो लेख्दैछु विभिन्न कारणले; छोटोमा गल्ति भै हाले पनि थोरै हुने, अनि मेरो टाइप गर्ने अनि साथीहरुको पढ्ने समय पनि बच्ने; पशुपतिको यात्रा पनि हुने सिद्राको व्यापार पनि हुने | अब यो गन्थन छाडेर कथा तिर जाऊ |

रितेश झसङ्ग हुदै बिउझ्यो | छ्या, कस्तो नराम्रो सपना; एक पटक पुरै आङ्ग सिरिङ्ग भएर आयो | घडी हेर्यो अनि आफैसंग बोल्यो "ओहो! दस पो बजिसकेछ" | उठ्न ढिलो नहोस् पनि कसरि, हिजो भाईटिका, दिदी कहाँ टिका लगाईवारी त्यतै खाल जम्यो | अनि त चाडै घर फर्कदा पनि मध्यरात हुनु त स्वाभाविक नै हो | आज आफ्नै ससुरा बवाल सिंह अधक्ष भएको अग्रगामी नेपाली दलले आह्वान गरेको "नेपाल बन्द" भएकोले बेलैमा घर फर्किन परेकोले त हो नि चांडो खेल सकाउनु परेको, नभए त आज बिहान सम्मै खेल जारी रहन्थ्यो होला | यो बुढो (ससुरा) लाई पनि शनिबार देखि नै नेपाल बन्द गर्नु पर्ने, त्यो पनि अनिश्चित कालिन | हाइ काढ्दै आङ्ग तन्काउदै भन्यो "खै ! चिया पाकेन ?" फेरी सम्झ्यो श्रीमती इशा त छोरी इरि र छोरा ऋतिकलाई लिएर भाईटिका मनाउन माइती नारायणघाट पो गएकीछे | छोराछोरीको स्कुल छठ सम्म बिदा भएकोले छठकै दिन आउने | "हत्तेरी, श्रीमती नहुदा पनि सार्है दुखः पाइने", एक्लै बर्बरायो अनि उठेर झ्यालको बाक्लो पर्दा तान्यो | कोठा भित्र पारिलो घाम छरियो | पत्रिका बाड्ने भाईले नेपाल बन्दका दिन पनि बिहानै साइकलबाटै पत्रिका फालेर गएछ, बाहिर बगैचामा भएको अखबारको पुलिन्दा हेर्दै भन्यो र बाथरुम तिर लग्यो | मुख कुल्ला गरि भान्सामा गएर चिया बसायो अनि बाहिर गइ अखबारको पोको लिएर आयो | चिया कपमा राखेर पत्रिका पढ्न बस्यो | यो देशमा पनि कस्तो बिधि अपराध बढेको होला समाचार हेर्दै सोच्यो, फेरी आज पनि एउटा बालकको अपहरण गरि पैसा लिएर हत्या | सरसर्ती हेर्यो अनि फेरी बर्बरायो उफ! यसमा पनि घरमा कामगर्ने कै मिलोमतो | यस्तै समाचार पढेर एक बर्ष अघि इशाले आफ्नो पढाउने जागिर छाडेर घर हेर्ने भनि घरमा कामगर्ने केटोलाई हटाएकी थिई | उनको तर्क पनि ठिकै थियो, मेरो इन्जिनियरको तलब राम्रै थियो झन् त्यसमाथि यताउताबाट आउने नजराना त धन माथिकी राती गेडी नै भैहाल्यो | अनि उसले पनि कमाउनु पर्ने जरुरि थिएन, बरु त्यस्ता कामगर्नेको कारणले केहि भैहाले पैसाले मात्रै के गर्नु ? अर्को समाचार पढ्यो "जोगिमारामा दुर्घटना" | हे भगवान ! यो हाम्रो देश नेपाल मन्दिरै-मन्दिरको देश भनेर चिनिन्थ्यो, अब त दुर्घट्नै-दुर्घट्नाको देशमा परिणत भैसक्यो, उसले सोच्यो| जोगीमारामा दुर्घटना हुनु उसको लागि अनौठो कुरा थिएन | ऊ अतितमा पुग्यो, त्यस्तै चौध-पन्ध्र बर्ष अघि | त्यति बेला ऊ सडक बिभागमा इन्जिनियरको रुपमा भर्खर-भर्खरै नियुक्त भएको थियो.| नयाँ नै भएपनि उनको अफिसमा निक्कै धाक थियो किनकि तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्रि बबाल सिंहसंग उनको राम्रो चिनजान थियो | त्यति बेला उनको बिहे भैसकेको थिएन | एकदिन अफिसमा पुग्न नपाउदै उनलाई मन्त्रालयबाट बोलाईएको खबर पाएर सिंहदरवार तिर लागे | पीएले उनलाई देख्ने बित्तिकै भने, "नमस्कार सर ! मन्त्रीज्यूले हजुरलाई नै कुरिराख्नुभाछ" | ऊ सरासर मन्त्रीको कार्यकक्षमा भित्रियो | बबाल सिंह अत्यन्त क्रोधित मुद्रामा बडबडाइरहेका थिए | उनले मुहारमा कुनै भाव नाल्याकनै भने "नमस्कार मन्त्रिज्यू, मलाई के कति कामले डाक्नु भो कुन्नि?"
"ए रितेशजी, ल बस्नुस्" मुहारको रिस लुकाउने असफल प्रयास गर्दै बबाल सिंहले भने | "दुइ गिलास कफी पठाउनुस त" बबाल सिंहले बाहिर पीएलाई अह्राए | उनको शब्द झर्न नपाउदै कफी आइसकेको थियो किनकि मन्त्रिज्यूले रितेशसंग बसेर कफी पिउछन् भन्ने पीएलाई राम्रैसंग थाहा थियो | यतिबेला सम्म बबाल सिंहको रिस बियरको फिंज जस्तो शान्त भैसकेको थियो | "यो दुनियाँमा पनि कस्ता कस्ता स्वाँठ मान्छेहरु हुन्छन्, बा-आमाले नाम हरिश के राखिदिए आफूलाई हरिश्चन्द्र नै ठान्दो रैछ", घुम्ने कुर्सिबाट उठेर रितेश नजिक सोफामा बस्दै बबालले भने | अब रितेशलाई बुझ्न गार्हो परेन कि अघि बबाल सिंह अर्का इन्जिनियर हरिशसंग रिसाएका रहेछन | शायद उनले कुनै काम गर्न मानेनन्, अनि त्यो काम उनीसंग लिन उनलाई डाकेका रहेछन् |
"मान्छे विद्वान मात्र भएर हुदैन, समझदार पनि हुनुपर्छ | नीति र नैतिकता भनेर मात्रै पनि हुदैन, समय अनुसार जो चल्न सक्छ त्यहिनै सफल हुन्छ | यस मामलामा तपाईं निक्कै अगाडी हुनुहुन्छ |" काम लिनु पर्दा आफू सामुन्नेकाको तारिफ गर्ने सर्वमान्य सिद्धान्तको प्रयोग गर्दै बबाल सिंह भन्दै थिए | यता रितेश त्यसको केहि असर नपरे झैँ भन्न लागे, "भन्नुस मैले के सहयोग गर्नु पर्यो?" आफ्नो अमोध अस्त्र बेअसर भएपनि मुस्कुराउदै बबाल सिंह भन्न लागे, "तपाईंलाई थाहै छ, हाम्रो देशमा अहिले राजमार्ग बनाउने योजना बनिरहेकोछ | यसको ठेकेदारले हामीसबैलाई फाइदा गराउने सुझाव अनुसार हामीले जोगिमाराको भीरको छेउ छेउ बाट बाटो निकाल्ने विचार गरिराखेका छौ |" "तर.." रितेशले बबाललाई बिचमै काट्दै भने "त्यसो गरे त त्यो मोड अत्यन्तै खतरनाक हुनेछ, एकातिर बाट आइरहेको गाडीले अर्को तिरबाट आएको गाडी नदेखी दुर्घटनाको सम्भावना बढ्नेछ | फेरी त्यो भिरको माटो पनि स्थिर छैन | बर्षातमा पहिरो गइ बाटो अबरुध्द हुनेछ |" "त्यसैले त जोगीमारा भिरबाटै बाटो लाने" कुटिल मुस्कान सहित बबालले भने, "दुर्घटना भए हामीलाई के मतलब ? दुनियाँमा को को मरे को को बाँचे हामीलाई के सरोकार? रह्यो कुरा बाटो अबरुध्द हुने त्यसैमा त छ हाम्रो स्वार्थ |" अकमक्क परेका रितेश तिर टिठलाग्दो गरि हेर्दै उनले फेरी प्रस्ट्याए, "बाटो बिग्रे पछी बनाउन त फेरी पैसा लगाउनु पर्यो अनि फेरी हामीलाई कमिसन | अहिले पनि सुरुंग नबनाउदा बचत हुने पैसामा भाग पाउने, पछीको लागि पनि दुहुनो गाई हा हा हा हा ......|" बल्ल घैटाँमा घाम लागेका रितेशले दङ्ग पर्दै भने, "वाह ! वाह!! क्या दामी विचार यसलाई भन्छन सावाँ पनि आउने, ब्याज पनि पाउने, हा हा हा हा ...|" मख्खापर्दै बबालले भने, "हो तपाईं सार्है समझदार हुनुहुन्छ |" फेरी अचानक उनको भाव अमेरिकाको मौसम जस्तो तुरुन्तै परिवर्तन भयो, र झोक्किदै भने, "त्यो स्वाँठ हरिश, कुरै बुझ्दैन | यस्तो फलिफाप हुने योजनामा हुदै हुन्न भन्छ | मैले यो परियोजनामा त्यस्ता मुर्खको साटो तपाईं जस्तो समयलाई चिन्न सक्षम इन्जिनियर खोजेको हो | तपाईंको मन्जुरी भए कुरा अगाडी बढाऊ ?" यसरि बबाल र रितेश बीच कुरा अघि बढ्दा-बढ्दै ससुरा-ज्वाँई सम्म पुग्यो |
"ट्रिंग ट्रिंग ...." टेलिफोनको घंटिले उसको त्यान्द्रो टुट्यो | "हेलो ! नमस्कार मुवा" फोन उठाएर उता सासु-आमाको आवाज चिनेर रितेशले भन्यो | "नमस्कार ! अनि आरामै ? इशा सुतिरा'छे?" मुवाको प्रश्नले रितेश अकमक्कियो र प्रतिप्रश्न गर्यो "उनीहरु त छठ पछी आउने हैन र?" "हुनत हो तर बुवाको पार्टीले आजबाट अनिश्चितकालिन नेपाल बन्द गर्ने भनेकोले उनीहरु त टिका सकाएर हिजै राती गाडी लेर हिडे" मुवाको जवाफले रितेशको मुटुमा ढ्यांग्रो ठोक्यो | "उनीहरु पुगेका छैनन् कि क्याहो ?" मुवाको आत्तिएको आवाज आयो | "अहँ आइपुगेका छैनन्, कतै बाटैमा रोकिएकी क्या हो ? म बुवालाई फोन गरि वहांको कार्यकर्ताले कतै रोकी राखेका छन् कि बुझ्न भन्छु", सकेसम्म संयमित हुदै रितेशले भने | तर उसको मन अनिस्ट आशंकाले घेरिएर अघि पढेको समाचारको शिर्षकमा अडियो | झम्टिएको झैँ गरेर उसले पत्रिकाको त्यो पाना पल्टायो | समाचार पढ्दै गएपछि नुन खाएको कुखुरा झैँ भयो | त्यतिकैमा फोनको घन्टी फेरी बज्यो | रितेशले यन्त्रवत रुपमा फोन उठायो | अर्को तिर बाट बबाल सिंहको आवाज आयो, "
मलाई मुवाले फोन गरेथिई | आत्तिनु पर्दैन ज्वाँईसाब, मैले कार्यकर्ता हरुलाई निर्देशन दिइसकेकोछु | म त्यहि आउछु अनि विस्तारमा कुरा गरौला | त्यति बेलासम्म कहाँ छन् भन्ने खबर पनि आइसक्छ | केहि नबोली रितेशले फोन राखिदियो | उता बबाल सिंह गाडीमा निस्के | बाटोमा आफ्नै कार्यकर्ताले धेरै ठाउँमा रोके | भित्र भित्र रिस उठेपनि बाहिर बाहिर स्याबास, म बन्द अनुगमन गर्दै हिडेको भने | रितेशको घरमा आएर ढोका ठेल्दा ढोका खुल्यो | अघि रितेशले पत्रिका लिएर फर्कदा शायद बन्द गरेनछ | टोलाएर बसिरहेको रितेशलाई देखेर ढाडस दिदै बबालले भने चिन्ता नलिनुस ज्वाँईसाब केहि बेरमै मेरा कार्यकर्ताले उनीहरुको खबर ल्याउने छन् | रितेश एकनासले पत्रिकतिर हेरेर टोलाएकोले बबालले पत्रिका तिर हेर्यो "जोगिमारामा दुर्घटना" उसले अनिष्ट आशंका गर्दै खबर पढ्न थाल्यो, आज बिहानै स्थानीय सम्बातदाताले इमेल गरेको अनुसार एउटा निलो पजेरो गाडी आधि डुबेको अवस्थामा स्थानीयहरुले फेलापारे | उक्त गाडीमा कोहि पनि नभेटिएकोले खोजीगरी हेर्दा एउटा बालक अचेत अवस्थामा रुखमा अड्किएको फेला पर्यो | हत्तपत्त फोन झिकी पत्रिकाको कार्यालयमा फोन गरे | "हेलो ! तपाईं हरुले आफ्नो पत्रिकाको अन्त्यमा "जोगीमारामा दुर्घटना" को खबर छाप्नु भएको रहेछ | त्यसको बारेमा केहि अपडेट आयो?" आत्तिएका बबाल सोधे | "तपाईं को?" उताबाट सोधिएको प्रश्नले बबालको कन्पारो ताते पनि बिस्तारै बोल्यो, "म वहाँहरुको परिवारलाई चिन्छु | त्यसैले वहाँहरुलाई खबर गर्न पहिले पूरा खबर थाहा पाउन फोन गरेको". "ओहो ! ढुङ्गो खोज्दा देउतै मिल्यो हामीहरु पनि वहाँहरुको सनाखत हुन पाए हुन्थ्यो भन्ने सोचिरहेका थियौ | बडो मार्मिक दुर्घटना भएको रहेछ" पत्रिकावाला पनि अरु बढी सूचना पाउने लोभमा नम्र हुदै भन्यो | बबालले केहि नबोलेपछि फेरी भन्न थाल्यो " गाडीको चक्काको डोब हेर्दा वहाँहरु भरतपुर तिरबाट काठमाडौँ तिर जान लागेको जस्तो देखिन्छ | राती अध्यारोमा त्यो तिखो मोडको राम्रो भेउ नपाएर गाडी भीरबाट तल खोलामा खसेछ | दिउसै त त्यो मोड काट्न गार्हो छ राती त झन् गाह्रो हुने नै भो | अनि अहिले सम्म एक जना आइमाई र एक बालिकाको लाश बगाएर ४ किलोमिटर तल भेटियो | अनि एक बालक चाँही अचेत अवस्थामा भेटिएको थियो तर आज को नेपालबन्दले गाडी त के एम्बुलेन्स पनि चल्न नदिएकोले समयमा उपचार नपाई तिनको पनि निधन भयो |" पत्रिकावालाको कुरा सुनेर बबाल सिंह जस्ता कठोर मन भएको मानिसको आखाँबाट पनि वर्षाकालको मेघ जस्तो बलिध्रधारा आँसु बग्न थाल्यो | "हा हा हा हा ......" अचानक रितेश जोड जोडले हाँस्न थाल्यो | "आज बल्ल थाहा भयो अचानोको पीर, हा हा हा हा ....." एकैपलमा आफ्नो सम्पूर्ण संसार उजाडिएपछी रितेशले मानसिक सन्तुलन गुमाए | हिजो सम्म संगसंगै हाँस्ने ससुरा-ज्वाँई आज सँगै हाँस्न सकेनन् बरु बबाल सिंहको आखाँबाट मूलफुटे जस्तो आँसु बगिनै रह्यो...........

"हगीसक्यो दैलो देख्यो" भने जस्तै भो बबाल सिंह र रितेशलाई | तर यथार्थमा पनि कोहि बबाल सिंह हुन सक्छन | वहाँहरुलाई म बेलैमा सचेत हुन निवेदन गर्दै.....
सुन्ने लाई सुनको माला
भन्ने लाई फूलको माला
यो कथा बैकुण्ठ जाला
भन्ने बेलामा खुरुक्क आउला

No comments:

Post a Comment