मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Friday, February 27, 2015

जीवन र Chemistry

मैले मनमा उठ्ने तरङ्गलाई शब्दमा पस्कने कोशिस हो यो लेख वा भनौ गन्थन | यो सत्य हो या असत्य हो आफैले ठम्याएर सुधार्ने-सच्याउने जे गर्नु पर्छ आफै गर्नु होला | कृपया मलाई ताली अथवा गाली दिने कष्ट नगर्नुहोला |

आजकाल म सामान्य रुपमा भन्नु पर्दा बौलाउन लागेको छु भन्दा हुन्छ | बिज्ञानको अनुसंधान रुपी समुद्रमा डुबुल्की लाएर आजित भै बल्ल तल्ल किनारमा आएर सुस्ताउदा, जब केहि सास फर्के जस्तो भयो र पर कही क्षितिजमा केहि टल्केको जस्तो लग्यो | मेरो बेहोसीको कारणले भएको भ्रम पो होकी जस्तो पनि लग्यो | तर बुझ्दै जादा त्यो आध्यात्म हो भन्ने थाहा भयो | भन्छन् नि कुकुर को पुच्छर बाह्र बर्ष ढुम्रोमा राख्दा पनि बांगो को बाङ्गै, लागेको बानी सजिलै कहाँ छुट्छ? यो आध्यात्म के हो, अब यसमै अनुसंधान गर्न मन लग्यो | सामान्य रुपमा हेर्दा जति सरल देखिन्छ गहिरिएर हेर्दा उतिनै क्लिष्ट छ | आफू त परियो chemist, नानी देखि लागेको बानी, समिकरण नभेटी अगाडी नबढ्ने | खोज्दै जाँदा एउटा समीकरण भेटीहाले |

मानिस    +     आध्यात्म       ------------->       मोक्ष

लौ गज्जब ! मानिस त भैहाले अब बाँकि रह्यो आध्यात्म; Good Starting is Half Done भन्ने सुनेथे, झन् यहाँ त आधा भैसकेको | भनेपछि त नेपाली पारामा भन्नु पर्दा झन्डै काम नै सकिनै लागेको | मख्ख परे, यो आध्यात्मलाई मन्दिरहरुको कुनाकाप्चामा यसो दुइचार बर्षमा खोजौला, अनि त पाई हालियो नि मोक्ष | परापूर्व कालमा बिचरा ऋषी-मुनिहरुले यति जाबो मोक्ष पाउन बेकारमा बर्षौ जंगलमा बिताए |

मानिस हुनुमा मलाई अलिकति पनि शंका थिएन | म गौरवान्वित थिए कि म मानिस त हु नै | तर मेरो नराम्रो बानी, नयाँ किताब पढ्दा मलाई पहिलो पृष्ठ हैन गाता (cover page) बाटै शुरु गर्न मन लाग्छ | कतिवटा किताबको त गाताबाट शुरु गरेर प्राक्कथन भन्दा उभो नै पढेको छैन | आफ्नै बानी अनुसार मन लागि नलागी भएपनि मानिसबाटै शुरु गरे |

पहिलो गाँस मै ढुंगा | जुन मानिस हुनुमा मलाई गर्व थियो, त्यो गर्व हुनु नै मोक्षको बाटोको तगारो  रहेछ | गर्व त अहंकारको बाल रुप पो हो अरे | संसारमा सबथोकको बच्चा मनमोहक हुने भएकोले अहंकारको पनि बलावास्था राम्रो देखिएको रे |  समय र परिस्थिति संगै झ्याङ्गीएर गर्व नै घमण्ड र अहंकार बन्दो रहेछ | लौ फेरी अर्को समीकरण -

                   समय, परिस्थिति
गर्व  ----------------------------------------->  घमण्ड    +     अहंकार

जति ठुलो आवाजले गर्जेर "म" भन्यो त्यतिनै बलियो "तँ" जन्मन्छ अरे | अनि जति बढी अहंकारी भो उति नै जोडले "म" भन्ने गर्छ रे |  "म" लाई जति प्रष्ट बनाउदै लग्यो, संसार उति नै गाढा हुदै जान्छ रे | संसार जति गाढा हुदै गयो, मानिस त्यतिनै सांसारिक हुने गर्छ र साथ-साथै उति नै परमात्मा अनि मोक्षसंग टाढिदै जान्छ रे | संसार प्रष्ट भए, मोक्ष अनिश्चित; मोक्ष नजिक गए संसार नाश्वर | ओहो ! यो त "Heisenberg's uncertainty principle" संग मेल खायो नि जस अनुसार "Any two variables that do not commute cannot be measured simultaneously—the more precisely one is known, the less precisely the other can be known". लौ बिज्ञानको सिद्धान्त त जीवनमा पनि मेल खाला जस्तो लग्यो | उसोभए "म" भाव (अहंकार) त्यागे स्थिरता (शाश्वत) तिर लागिन्छ भन्ने सिद्धान्त chemistryमा लागु हुन्छ कि हुदैन त? आफूले पढेको बिषय "Organic Chemistry" भएकोले पहिले "Organic Compound" बाटै शुरु गर्नु पर्यो |

चिनी पानी राख्यो भने घोलिंछ त्यसरी नै नुन पनि घोलिंछ | तर चिनी घोलिंदा नटुक्रिकन घोलिएको हुन्छ भने नुन चाही सोडियम र क्लोराइड दुईवटा टुक्रामा परिणत भएको हुन्छ | अर्थात् चिनीमा स्थाईत्व छ नुनमा छैन |

समयाभाव ले गर्दा यो लेख पुरा गर्न सकिन पुनः आउने छु ....

Thursday, February 26, 2015

आफ्नै खोज

भन्दछन् ज्ञान छ जता-त्यतै छताछुल्ल
तर किन हो कुन्नि म त भए अति नै रनभुल्ल

भएभरका शास्त्रहरुमा ज्ञान नै त भरिएका छन्

गीता रामायण सबतिर ज्ञानकै त कुरा गरिएका छन्
बाइबल अनि कुरानमा पनि त ज्ञान नै भरिएको छ अरे
तर कसैले पनि भन्न सक्दैन के हुने हो भरे

अहिले सम्म त छु तर भरे को के छ र भर

एक छिनमै खुशी हुन्छु एक छिनमै लाग्छ डर
को हु म, कहाँ छु म, फेरी के हो यो मन
दिमाग मनसंग बाझ्छ कोहि त केहि भन

नपाउदा सम्म ठुलो देख्छु पाएपछि फुस्स

धेरै परिश्रमले पनि पाएन भने यै मन हुन्छ ठुस्स
म भित्रै द्वन्दात्मक विचार फेरी कहांबाट आयो
म एक हो भने, यो एक भित्रै आगो कसले लायो

कहाँबाट आए म,फेरी भोलि जाने हो कहाँ

यसबारेमा सायदै कसैलाई थाहा होला यहाँ
कहिले त लाग्छ कसैले भन्दे हुन्थ्यो
तिनको प्रष्ट बचनले त सायद यो मन छुन्थ्यो

मेरो विचारमा त सायद कोहि पनि छैनन् प्रष्ट

खै मेरै अहंकार पो हो कि सबैलाई देख्छु म भ्रष्ट
अष्टावक्र भन्छन बन द्रष्टा, नबन तिमी कर्ता
परमात्मा हुनेछौ तिमी मिट्नेछ सम्पूर्ण सुर्ता

फेरी कोहि भन्छन गर तिमी पूर्ण समर्पण

यसबाटै हुनेछौ तिमी आफ्नै दर्पण
जति गुने पनि यी सब कुरा खै कता हो कता गा'छ
सुन्दा बुझेजस्तो लागेपनि सुगा रटान मात्र भा'छ

जति बुझ्न खोज्यो उति नै प्रश्न थपिदै जान्छ

प्रश्नको बाढीमा दिमागले आफैलाई बौलाहा ठान्छ
मेरो प्रश्नहरु के साच्चैनै मनमा गुन्नु भो
अथवा साच्चैनै मलाई बौलाहा ठान्नु भो

भन्दछन् ज्ञान छ जता-त्यतै छताछुल्ल

तर किन हो कुन्नि म त भए अति नै रनभुल्ल