मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Thursday, February 26, 2015

आफ्नै खोज

भन्दछन् ज्ञान छ जता-त्यतै छताछुल्ल
तर किन हो कुन्नि म त भए अति नै रनभुल्ल

भएभरका शास्त्रहरुमा ज्ञान नै त भरिएका छन्

गीता रामायण सबतिर ज्ञानकै त कुरा गरिएका छन्
बाइबल अनि कुरानमा पनि त ज्ञान नै भरिएको छ अरे
तर कसैले पनि भन्न सक्दैन के हुने हो भरे

अहिले सम्म त छु तर भरे को के छ र भर

एक छिनमै खुशी हुन्छु एक छिनमै लाग्छ डर
को हु म, कहाँ छु म, फेरी के हो यो मन
दिमाग मनसंग बाझ्छ कोहि त केहि भन

नपाउदा सम्म ठुलो देख्छु पाएपछि फुस्स

धेरै परिश्रमले पनि पाएन भने यै मन हुन्छ ठुस्स
म भित्रै द्वन्दात्मक विचार फेरी कहांबाट आयो
म एक हो भने, यो एक भित्रै आगो कसले लायो

कहाँबाट आए म,फेरी भोलि जाने हो कहाँ

यसबारेमा सायदै कसैलाई थाहा होला यहाँ
कहिले त लाग्छ कसैले भन्दे हुन्थ्यो
तिनको प्रष्ट बचनले त सायद यो मन छुन्थ्यो

मेरो विचारमा त सायद कोहि पनि छैनन् प्रष्ट

खै मेरै अहंकार पो हो कि सबैलाई देख्छु म भ्रष्ट
अष्टावक्र भन्छन बन द्रष्टा, नबन तिमी कर्ता
परमात्मा हुनेछौ तिमी मिट्नेछ सम्पूर्ण सुर्ता

फेरी कोहि भन्छन गर तिमी पूर्ण समर्पण

यसबाटै हुनेछौ तिमी आफ्नै दर्पण
जति गुने पनि यी सब कुरा खै कता हो कता गा'छ
सुन्दा बुझेजस्तो लागेपनि सुगा रटान मात्र भा'छ

जति बुझ्न खोज्यो उति नै प्रश्न थपिदै जान्छ

प्रश्नको बाढीमा दिमागले आफैलाई बौलाहा ठान्छ
मेरो प्रश्नहरु के साच्चैनै मनमा गुन्नु भो
अथवा साच्चैनै मलाई बौलाहा ठान्नु भो

भन्दछन् ज्ञान छ जता-त्यतै छताछुल्ल

तर किन हो कुन्नि म त भए अति नै रनभुल्ल

No comments:

Post a Comment