मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Friday, September 11, 2009

कविता

आज खै के अपडेट गर्ने, यो ब्लगको नियमित व्यवस्था गर्न पनि सार्है गार्हो पो हुदो रहेछ | आज पनि म पुरानो कुराकै सहारा लिन लागिरहेको छु | तर यो पटक कविताको कुरो गर्ने विचार गरे | यो कविता चाही सविताको दिदी नभएर कथाको बहिनी परिन | कुरो मैले भर्खरै एस. एल. सी. दिएपछिको हो | म दाजुसंग बस्न भनेर काठमाडौँ आएको थिए | दाजुले कहिलेकाहि अक्कल-झुक्कल एक-दुइवटा कविता कोरेर सुनाउने गर्नुहुन्थ्यो | राम्री नै भएपनि कविताको पछी म लाग्ने गर्थिन | केहि पछी मेरो भाई पनि शायद स्कूलको बिदामा काठमाडौँ आए | उसले पनि मलाई कविता सुनायो | अनि मैले सोचे ओहो दाजु पनि कवि, भाई पनि कवि, खै त मेरो छवी ? बस मैले पनि कविता कोर्ने विचार गरि कलम-कपि समाएर पलेटी मारेर बसे | मेरो पहिलो प्रयास त्यति राम्रो नभएपनि म यहाँ पस्कदैछु | बोर हुन तयार हुनुहुनेहरुलाई धन्यवाद |

Thursday, September 10, 2009

पञ्चतंत्रको कथाहरु

यो कथाहरु मैले आफैले लेखेको नभएर धेरै पहिले सानोमा पढेको थिए | मैले ठ्याक्कै मिल्ने गरि सम्झेको छैन तर सार भने उही आउने गरि आफैले मिलाई यहाँ राखेको छु | अलमल भए माफ पाऊ |

छट्टूस्याल

एउटा जंगलका दुइवटा स्यालहरु आफुलाई दुनियाकै सबैभन्दा कुटिल बुद्धि ठान्दथे | एकदिन घुम्दा घुम्दै एउटा सिहं सुतिरहेको देखेछन | उनिहरुको दुष्ट बुद्धि उम्लन थालेछ | अनि गएर सिंहको जुंगो तानेछ | सिहंलाई पनि झोक चलेछ | अनि एकै झपटामा दुवैलाई परलोक पुर्याईदिएछ |

सार: आफूभन्दा ठुलो शांत भएर बसेकोछ भन्दैमा कमजोर ठानी हेप्न वा जिस्काउन हुदैन |

यथार्थ

आज शनिबार अलि बढी सुतौ जस्तो लागे पनि नानी देखि लागेको बानी भनेको जस्तो बिहानै ६ बजे नै आँखा खुल्यो | आमाले जहिले पनि छोरी मान्छे भएर पनि ढिलो उठ्ने हो भन्दै सानै देखि चाडो उठाई दिनुहुन्थ्यो | अल्छी मान्दै आधि घण्टा जति ओच्छ्यान मै पल्टी रहे | यसो मुख धोइवारी छेउको पत्रिका पसल गएर चार थरिको पत्रिका लिएर आए | के गर्ने एउटै पत्रिका पढे त मान्छे को दिमागै खराब गर्ने गरि एकहोरो लेखेका हुन्छन |

राम राम !!! हैन यो के हुन लागेको | कलियुग भन्थे साच्चै हुदो रहेछा कि क्याहो ? सबै पत्रिकाहरुको मुखपृष्ठमा एउटै खबर | स्वास्नीले सुतिरहेको लोग्नेलाई प्वाइन्ट ब्ल्यांकबाटै निधारमै गोलि हानी हत्या | कस्ती निर्दयी आइमाई रहिछ | सबै पत्रिकाहरुको खबर सरसर्ती पढे | राति शुक्रबारको रमाइलो गरि फर्केको लोग्ने सुतेपछि गोलि हानिछ | मुख्य कारण थाहा नपाए पनि धेरैले नाठोको शंका गरेका थिए | आफू एउटी नारी भएपनि पटक्कै मन पग्लेन उनीप्रति | यस्ता आइमाईहरु नै हुन् हामी नारीलाई कलंकित गर्ने जस्तो लग्यो | तर पनि नारी सम्बन्धित संस्थामै काम गर्ने हुनाले उनको मुद्दामा अदालत जाने विचार गरे |

Wednesday, September 9, 2009

मेरो प्रयास

यो संसारमा सायदै कोहि भेटिएला जसलाई केहि राम्रो गरौ जस्तो नलागोस | म पनि यसमा अपवाद हुन चाहदिन | तर गर्ने के भन्ने ठम्याउन भने अवश्य पनि गार्हो कुरा हो | अहिले सबैभन्दा सजिलो चलन भनेकै इन्टरनेट मा ब्लग लेख्ने भएको छ | म पनि लौन त शुरु गरौ भनेर यहि सजिलो चलन पच्छ्याउने प्रयास गर्दै छु| हेरौ कहाँ सम्म सफल भइन्छ | अहिले खासमा यो ब्लग मा के लेख्ने भनेर समेत सोच्न भ्याएको छैन | हेर्दै जाउ के हुन्छ | आज लाई यति.....