मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Monday, October 25, 2010

जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी

मैले इन्टरनेटको समाचार र ब्लगहरु चाहार्दा पढेका प्रतिक्रियालाई संछेपीकरण गर्दा के निर्क्योल निकाले भने धेरै नेपालीहरु देशका लागि केहि गर्न चाहन्छन् तर मेसो नपाएर अथवा हौसाउने नपाएर लाचार भएका छन् | अब यसलाई केमेस्ट्रीको भाषामा भन्नु पर्दा "क्याटलिस्ट" को कमि हो कि जस्तो पनि लाग्यो | त्यसैले मैले मेरो ब्लगमा केहि पौरखी व्यक्तिहरु, जसले नेपालको लागि केहि गरे, लाई पनि ठाउँ दिने विचार गरि यो नया सृंखला "जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी" सुरु गर्दै छु | यसले एक जना मात्रै भएपनि देशको लागि केहि गरौ भन्ने लाई "क्याटलाइज" गर्न सक्यो भने मेरो यो सृंखला को उद्देश्य सफल भएको ठान्ने छु | अब म आफै पत्रकार अथवा पत्रकारिता सम्बन्धित व्यक्ति नभएकोले वहाँहरुको बारेमा यहि इन्टरनेटबाटै बटुलेका सामग्रीहरु पस्कनेछु |

यसको सुरुवात गर्छु सबैले नाम सुनेको एक प्रख्यात व्यक्तिबाट जसलाई सबैले "महाबिर पुन" को नामले चिन्छन् |

महावीर पुन, ५६

उनको योगदान

  • म्याग्दीको पहाडी गाउँ नांगीमा इन्टरनेट सेवा पुर्‍याउने
  • ग्रामीणबासीलाई सूचना प्रविधिको पहुँच दिलाउने
  • नांगीमा इन्टरनेटबाट सामान खरिदबिक्रीको प्रबर्द्धन
  • http://www.himanchal.org/school-mahabir-pun.html
  • http://www.nepalwireless.net/
२०४४ साल। चितवनको कुनै एक स्कुल। एसएलसी चलिरहेको थियो। महावीर पुन अतिरिक्त गार्ड थिए।

परीक्षा सकिनेबेला हुँदै थियो। द्रुत गतिमा एउटा गाडी आएर स्कुल परिसरमा रोकियो। कक्षा कोठामा कडिकडाउ सुरु भयो। विद्यार्थीहरू टाउकोसमेत नहल्लाई लेख्न थाले।

महावीरले ढोकाबाट फुत्त टाउको झिके।

'अरे, सिडिओ साब,' एकै सासमा सुस्तरी भने।

पन्त थरका ती व्यक्ति चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन्। जिल्लामा उनको सनकको निकै चर्चा थियो। जसलाई पनि गाली गर्ने। विनाकसुर जो पायो त्यसैलाई समातेर थुनिदिने। पञ्चायती व्यवस्थाको आडमा पार्टीका नेता तथा कार्यकर्तालाई दबाउने। 'खुँखार' उपनामले जिल्लामा प्रख्यात।

सिडिओ साब सरासर परीक्षा हलभित्र छिरे। उनलाई चिन्नेहरू धानका बालाझैं लत्रक्क परे। कोही शिर निहुराएर हात जोडेका जोड्यै। महावीर परै बसेर हेरिरहेका थिए।

'के पारा हो यस्तो,' उनी कड्किए, 'यस्तो पनि परीक्षा हुन्छ!'

जवाफ फर्काउने कसले? सब तैं चुप मै चुप।

महावीरलाई सही नसक्नुभो। 'विद्यार्थीको अगाडि विनाकारण शिक्षकलाई गाली गर्दा के इज्जत रहन्छ,' उनी यही सोच्दै अगाडि बढे।

'तपाईं विनाकारण शिक्षकलाई गाली गर्न पाउनुहुन्न,' महावीरले भने।

'तँ को होस्,' सिडियोसाबले खुँखार शैली ब्युँत्याए, 'को होस् त?'

'म,' उनले भने, 'शिक्षक हुँ।'

'त मलाई चिन्दैनस् होला,' सिडियोसाबले धक्कु लाए, 'म को हुँ, थाहा छ तँलाई?'

'सिडियोसाब,' उनले भने, 'विनाकसुर कसैलाई गाली गर्नु राम्रो होइन।'

एकछिनको मौखिक घम्साघम्सीपछि स्थिति सामान्य बन्यो। यसको नतिजा महावीरले बुझिसकेका थिए। आखिर भयो त्यही नै। घटनाको केही दिनपछि साँझ डुल्न निस्केका महावीरलाई प्रहरीले भ्यानमा कोच्यो। पुर्‍याइयो — भरत प्रहरी चौकी। एक हप्तामा उनलाई खोरमा राखियो।

'मलाई किन ल्याएको?' महावीरको जवाफ कसैले दिएनन्।

केही दिनपछि सिडिओले भने, 'जे भएनि भयो, छोड्दे यसलाई।'

यो घटना उनको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण बन्यो। उनले शिक्षण पेसा २०३० सालमा चितवनबाट सुरु गरेका थिए। सुरु गरेको तीन वर्षपछि उनी स्थायी पनि भए। यही घटनाका कारण उनी शिक्षण पेसालाई बिट मार्ने निर्णयमा पुगे।

'घटना नभइदिएको भए म शिक्षक नै भइरहन्थेँ,' उनी सुनाउँछन्, 'सायद यति बेला म रिटायर्ड भएर खेतीकिसानीमा लागिरहेको हुँन्थेँ।'

उनीसँग अब एउटै विकल्प थियो — नयाँ गन्तव्यको खोजी।

-----------------------------------------------------------------------------------------------

खोरबाट छुटेपछि पढाउनतिर उनको मन गएन। दुई वर्ष बेतलवी विदा लिन पाउने सुविधा थियो। विदा लिएर उनी नयाँ गन्तव्यको खोजीमा काठमाडौं आए।

'अहिलेजस्तो विदेश जाने चलन थिएन,' उनी सुनाउँछन्, 'केही काम गर्न अरब जान्थे।'

अरबतिर जाने सोच नआएको होइन।

'बाबु, पढ्नुपर्छ,' उनलाई बुबाको बोलीले तर्साउँथ्यो।

केही साथीले उनलाई पढ्न अमेरिका जान सल्लाह दिए। उनमा इच्छाशक्ति पनि जाग्यो। तर आफ्नो खर्चमा जानसक्ने अवस्था थिएन। त्यतिबेला अमेरिकन लाइब्रेरी न्युरोडमा थियो। उनी त्यहाँ गए र बुझे। सुरु गरे — टोफल क्लास। अमेरिकाका धेरै विश्वविद्यालयमा उनले स्कलरसिपका लागि पत्र लेखे। सजिलै कहाँ मिल्थ्यो र! उनले हरेस मानेनन्। अन्तत : सन् १९८९ मा विज्ञान विषय पढ्न अमेरिकास्थित निब्रास्का विश्वविद्यालय पुगे।

स्कलरसिपमा गएकाले अमेरिकामा उनलाई पैसाको समस्या परेन। उनी देख्थे — आफ्नो खर्चमा गएकाहरू जति बेला पनि काममा कुदिरहेका हुन्थे। नत्र अमेरिकामा पढ्न सक्दैनथे। अरूको दुःखबाट पनि उनले सिके। त्यसैले उनको ध्यान पढाइमा मात्र केन्द्रित थियो। विश्वविद्यालयका प्राध्यापकहरूले पनि उनलाई मनपराउँथे। स्नातक तहको अध्ययन सकेर महावीर सन् १९९२ मा नेपाल फर्के।

'नेपाल फर्केर,' उनी भन्छन्, 'यो गर्छु भन्ने योजना मसँग थिएन।'

'बोर्डिङ स्कुल खोल्नुपर्छ,' काठमाडौंका साथीले उक्साए। साथीहरूको जुक्तिमा उनको मन बसेन। उनलाई स्वतन्त्र रूपमा केही गरूँ भन्ने थियो।

चितवनमा उनका दिन बित्दै थिए। उनलाई लाग्नथाल्यो, 'शिक्षासम्बन्धी केही गर्नुपर्छ।' यस्तै सोचमा डुबुल्की मार्दैगर्दा एकदिन उनलाई म्यादीको नाङ्गी गाउँस्थित पहाडघरको याद आयो। उनी त्यहाँ नपुगेको थुप्रै भएको थियो। उनी लागे नाङ्गीतर्फ।

------------------------------------------------------------------------------------------------

नाङ्गी गाउँ। उनी २०११ सालमा यसै गाउँमा जन्मेका थिए। यहीँ उनले बाल्यकाल बिताए। कक्षा सातसम्म उनले यहीँ पढेका थिए — विनाकिताब, कपी र कलम। शिक्षक कोही थिएन। भूतपूर्व सैनिकहरूले आफूले जानेको सिकाउँथे। भारतीय सेनामा रहेका गाउँले दाजुभाइ फर्कंदा उनीहरूको पनि पढाउने पालो आउँथ्यो। ८ कक्षा पढ्न पाँच घन्टा हिँडेर माझ फाँट स्कुल पुग्नुपर्थ्यो। ९ र १० कक्षाका लागि पोखरा। पोखरा पढाउने खर्च उनको परिवार थेग्न सक्दैनथ्यो। संयोज, त्यति नै बेला मामाले चितवनमा जग्गा किने। त्यही जग्गामा खेतीपाती गर्न र छोरालाई पढाउन उनका बुबा उनलाई लिएर २०२५ सालमा चितवनको वीरेन्द्रनगर झरे।

'बुबा खेतीपाती गर्ने,' उनले विगत सम्झे, 'म पढ्न थालेँ।'

खैरहनी हाई स्कुलबाट २०२७ सालमा सेकेन्ड डिभिजनमा उनले एसएलसी पास गरे। बुबा परे भूपू लाहुरे। आम्दानीको स्रोत भनेको बुबाको पेन्सन थियो। परिवार संख्या ठूलै थियो — ४ दाजुभाइ, ३ दिदीबहिनी। महावीर सन्तानमध्येका जेठा। साधारण परिवार — साग सिस्नु, खोले खाएर हुर्केका। कोदो र मकै किन्न स्याङ्जा आउनुपर्थ्यो, चामल किन्न बुटवल। ३० केजी चामल नाङ्गी पुर्‍याउन १४ दिन लाग्थ्यो।

एसएलसी दिएकै वर्ष चितवनमा एक विघा जग्गा किनी उनको सबै परिवार चितवन झर्‍यो। तर उनी भने काठमाडौं आउनुपर्ने भयो — उच्च शिक्षाका लागि। आफ्नै खर्चमा यो सम्भव थिएन। भारतीय दूतावासले भूपू सैनिकका छोराछोरीलाई उच्च शिक्षाका लागि स्कलरसिप दिन्थ्यो। उनले यो सुविधा पाए। भर्ना भए अमृत साइन्स क्याम्पसमा आइएस्सी। इन्जिनियर बन्ने उनको सपना।

'इन्जिनियरलाई ठूलो मान्छे भन्थे,' उनले सम्झे।

आइएस्सी सिध्याएर २०३० सालमा उनी चितवन फर्के। बुबा उनलाई 'बिएस्सी पढाउँछु' भन्थे, तर घरको आर्थिक अवस्थाले धान्न सक्थेन। फेरि छ जना भाइ र बहिनीलाई पढाउने जिम्मेवारी उनकै काँधमा थियो। उनले भाइबहिनी पढाउने निर्णय लिए। अँगाले — शिक्षण पेसा।

-------------------------------------------------------------------------------------------------

'हाई स्कुल खोल्नुपर्छ,' महावीर नाङ्गी पुग्दा उनैका उमेरका गफिरहेका थिए। उनले बुझे — स्कुल खोल्ने तरखर भइरहेको छ। गाउँलेहरूलाई चिन्ता थियो — पढाउने कसले त? सुरुमा सरकारले स्कुललाई शिक्षक उपलब्ध गराउँदैनथ्यो। स्थानीयले नै शिक्षकको व्यवस्था गर्नुपर्थ्यो। फेरि शिक्षकलाई दिनुपर्ने तलब कहाँबाट जोहो गर्ने, नाङ्गीवासी चिन्तित थिए।

'म पढाइदिन्छु,' उनी स्वयंसेवक हुन तयार भए।

हिमाञ्चल उच्च माध्यमिक विद्यालय खोलियो। समस्या थियो — स्कुल सञ्चालनका लागि कसरी अर्थ संकलन गर्ने? रातदिन उनी सोचमा डुब्थे। एकदिन जुक्ति फुर्‍यो — खरायो पाल्ने, हाँस पाल्ने, चौंरी पाल्ने, विदेशीका लागि क्याम्प सञ्चालन गर्ने, नेपाली कागज बनाउने आदि। यी कार्य सम्भव पनि थियो। यी सबै कार्य स्कुलको नाममा हुन्थ्यो। जसमध्ये केही अहिले पनि सञ्चालनमा छन्। अहिले 'क्याम्पिङ साइट' लाई 'टुरिस्ट होटल' बनाइएको छ। स्थापना गर्दा ८ कक्षाबाट सुरु गरिएको स्कुलमा अहिले प्लस टुसम्मको पढाइ हुन्छ।

स्कुल सञ्चालनका लागि आयआर्जनको मेलो त गरियो। तर समस्याले फेरि छोडेन — उत्पादन गरेका वस्तुभाउ कहाँ बेच्ने त? उनले समस्याको पहिचान गरे — सञ्चार सुविधा। यदि सञ्चार सुविधा हुँदो हो त कहाँ के आवश्यक पर्छ, सोधखोज गरी तुरुन्त पुर्‍याउन सकिन्थ्यो। आवश्यक चिज ल्याउन पनि गाह्रो पर्दैनथ्यो।

यति बेलासम्म नाङ्गीमा माओवादी द्वन्द्व प्रवेश गरिसकेको थिएन। विस्तारै द्वन्द्व प्रवेश गर्‍यो। सञ्चार सामग्रीमा सरकारको प्रतिबन्ध बढ्दै गयो भने माओवादीको निसाना पनि यिनैमा थियो।

'एउटा गाउँबाट अर्को गाउँमा सूचना दिन जानुपर्दा ५ घन्टा हिँड्नुपर्ने,' महावीर भन्छन्, 'केही गर्नुपर्छ भन्ने सोच यहीँबाट आयो।'

स्कुल छुटेपछि उनी यही सोच्थे — कसरी गाउँ–गाउँलाई सञ्चारले जोड्न सकिएला?

'इन्टरनेट,' उनी विगत सम्झन्छन्, 'हाम्रो सोचमै थिएन।'

इन्टरनेट ल्याउन पोखरासम्म केबलले जोड्नपर्थ्यो। जुन सम्भव थिएन। उनी यसको अनुसन्धानमा लागे। पोखरा आएर इन्टरनेटमा दिनभर घोत्लिन्थे। सूचना सञ्चार प्रविधिसम्बन्धी किताब भेट्यो कि दिनभर किताबकै पानामा हराउँथे। लामो अध्ययन र खोजपश्चात उनले भेटे — गाउँ–गाउँ जोड्ने सञ्चार त 'इन्टरकम' रहेछ। यो सन् २००१ को सुरुका दिनको कुरा। 'वाइफाई' प्रविधिले आफ्नो घुम्टो उठाउँदै थियो। उनी वाइफाईको अध्ययनमा लागे।

'हामीले खोजेको र चाहिने प्रविधि त वाइफाई रहेछ,' उनी निस्कर्षमा पुगे।

वाइफाईका सातवटा उपयोगिता उनले बुझे। पहिलो, यसबाट गाउँ–गाउँबीच सञ्चारको व्यवस्था गर्न सकिन्थ्यो। दोस्रो, पोखरासँग विनातार (वायरलेस) जोड्न सकिने। तेस्रो, इन्टरनेट पनि चलाउन सकिने। चौथो, पोखरामा एनटिसीको लाइनसँग जोडेपछि एसटिडी फोन पनि गर्न सकिने। पाँचौं, भिडियो कन्फ्रेन्स गर्न सकिने। छैठौं, टेलिमेडिसिन र टेलिएजुकेसन पनि सम्भव। र सातौं, सरकारी तथा सामुदायिक स्कुलमा वायरलेस इन्टरनेटद्वारा शिक्षा दिई पढाइको स्तर उकास्न सकिने।

त्यो समय अहिलेको जस्तो शक्तिशाली वाइफाई प्रविधिको विकास भइसकेको थिएन। वाइफाईले सामान्य कोठाभित्र मात्र काम गर्थ्यो। तर नाङ्गीमा चाहिन्थ्यो अहिले बजारमा पाइने जस्ता शक्तिशाली वाइफाई प्रविधि। लामो दुरीसम्म काम गर्ने वाइफाई प्रविधिको खोजीमा महावीर जुटे।

दुई वर्षको अथक प्रयासपछि उनले सफलता पाए। सुरुका दिन प्रविधि बुझ्न नै उनले खर्चिए। उनको प्रयास थाहा पाएर विदेशबाट समेत स्वयंसेवक नाङ्गी आउन थालेका थिए। उनीहरूसँगै बसेर महावीर प्रविधिको परीक्षण गर्थे। वाइफाई परीक्षण गर्दा आवश्यक पर्ने एन्टेना आफैं बनाउन पर्थ्यो। 'कस्तो एन्टेना बनाउने?' उनी इन्टरनेट र किताबमा पानामा यसैको खोजी गर्थे।

'लङ रेन्जको एन्टेना चाहिने रहेछ,' उनी निस्कर्षमा पुगे।

कहिले टिन त कहिले थाली, ड्रमबाट समेत एन्टेना बनाएर परीक्षण गरे। सफलता हात परेन। आखिरमा पत्ता लाए — डिस्क एन्टेनाले काम गर्ने रहेछ।

'डिस्क एन्टेनामा हुने रिसिभरको ठाउँमा तेल नाप्ने लिटर (आल्मुनियमको)लाई घोप्टो पारी राखेपछि एन्टेनाले हामीले खोजेको नतिजा दियो,' उनी मुस्कुराए।

अब चाहियो वाइफाईलाई आवश्यक पर्ने अन्य उपकरण। उपकरण झिकाउन लाइसेन्स चाहिन्थ्यो। लाइसेन्स लिन उनी पुगे सञ्चार मन्त्रालय।

'द्वन्द्वका कारण लाइसेन्स दिन मिल्दैन,' मन्त्रालयका एक अधिकारीको भनाइले महावीर खिसि्रक्क परे।

'दुःख नगरे हुन्छ,' ती अधिकारीले उनलाई फर्काइदिए।

'द्वन्द्वका कारण दुःख पाइयो,' महावीर भन्छन्, 'सरकारले उपकरण ब्यान गरिदियो।'

उनको सानैदेखिको बानी — एउटा काममा लागेपछि एकोहोरो लाग्ने। 'अवैधानिक' बाटो हिँड्न उनी बाध्य भए। थप परीक्षणका लागि उपकरण चोरीनिकासी गरियो। उपकरण विदेशी विद्यार्थीले लुकाएर ल्याउँथे।

'नेपालको अवस्था यस्तो छ,' उनी विदेशी विद्यार्थीलाई सम्झाउँथे, 'सामान यस्तो हो भनेर लुकाएर ल्याउनू।'

त्यति नै बेला क्यालिफोर्निया विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीले १० हजार अमेरिकी डलरको छात्रवृत्ति पाए। तिनै विद्यार्थीले ७ हजार डलरबराबरको उपकरण नाङ्गी ल्याए। अनि मूर्तरूप लियो महावीरको योजनाले। उनले पहिलो पटक सञ्चारले जोडे नाङ्गी र राम्चे गाउँलाई। यो सन् २००२ को अन्ततिरको कुरा। रिसिभरमा (इन्टरनेट फोनमार्फत) कुरा हुन थाल्यो नाङ्गी र राम्चे गाविसका जनताबीच। गाउँभरि हर्सोल्लास छायो। वस्तुभाउ बेच्न तथा सामान्य सूचना दिन अब घन्टौं हिँड्नुपर्ने झन्झट हट्यो।

सन् २००४ मा यो प्रविधिमार्फत म्याग्दीका थप पाँच गाउँ जोडियो — टिकोट, सिख, पाउदार, हारा र घोरेपानी। सन् २००५ मा गरिबी निवारण कोषले 'लौन अब त केही गरौं' कार्यक्रम ल्यायो। उनले प्रस्तावना पेस गरे। पाए २० हजार अमेरिकी डलरबराबरको सहयोग। यसबाट उनले म्याग्दीका थप ८ वटा गाउँलाई वाइफाई प्रविधिले जोडे।

'हामीले गरिरहेको काम अवैधानिक हो,' उनले भने, 'सहयोग गर्ने कोषलाई यो थाहा थिएन।' पछि पनि यो यथार्थ उनीहरुले थाहा पाएनन्।

यहाँसम्म आइपुग्दा उनको चर्चा अब देशभित्र मात्र रहेन। विदेशमा पनि नामी कहलिए। विदेशीहरू नाङ्गी हेर्नैका लागि भनेर आउन थाले। सबैको मुखबाट सुन्थे, 'वाउ'। उनी यही आवाजसँगै हौसिन्थे। उनी वाइफाई प्रविधिलाई देशका दुर्गमा गाउँमा विस्तार गर्न जुटिरहेका थिए। उनी चाहन्छन् — प्रत्येक गाउँलाई वाइफाईले जोडोस्। यस्तैमा एसियाको नोवेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भए। दुर्गम गाउँमा वाइफाई पुर्‍याएको भन्दै उनलाई यो सम्मान दिइएको थियो। यो सन् २००७ को कुरा।

अहिले उनले वाइफाई प्रविधिलाई म्याग्दी, पर्वत, कास्की, बाग्लुङ, गुल्मी, गोरखा, मकवानपुर, दोलखा, मुस्ताङ, नुवाकोट गरी १० जिल्लाका ७५ गाउँमा पुर्‍याइसकेका छन्। यी गाउँमा टेलिफोन छन्, इन्टरनेट चल्छ। वेबसाइट गाउँमै विकास गरिन्छ, अपलोड पनि त्यहीँ। खेताला चाहिए त्यही सूचना राखिन्छ, वस्तुभाउ बेच्न वा किन्न परे वेबसाइटका पाना क्लिक गर्छन् गाउँले। स्कुले केटाकेटीदेखि वृद्धवृद्धासम्म इमेल आइडी साटासाट गर्छन्।

'स्थानीय आफैं जाग्नुपर्छ,' उनी भन्छन्, 'विदेशीले आर्थिक तथा प्राविधिक सहयोग गरे म त्यसमा थपिदिन्छु।' वाइफाई प्रविधि गाउँ भित्रेपछि गाउँलेले थुप्रै सुविधा पाएका छन्। म्याग्दी, जोमसोम, दोलखा, मकवानपुर, त्रिशुली, फर्पिङलगायत ठाउँमा टेलीमेडिसिन सुरु भएको छ। काठमाडौं मोडल अस्पतालको तेस्रो तलाबाट डाक्टरहरू ती ठाउँका बिरामीको उपचार गर्छन्।

यसका लागि मोडल अस्पतालमा छुट्टै कक्ष छ। ठूलो डिस्प्ले स्त्रि्कन र शक्तिशाली क्यामरा त्यहाँ जडान गरिएको छ। क्यामरा मात्रलाई ६ हजार अमेरिकी डलर पर्‍यो। इन्टरनेट नहुने कुरै भएन। टेलिमेडिसिन सञ्चालन भएका प्रत्येक ठाउँमा यस्तै कक्ष बनाइएको छ। उपचार गर्दा अस्पतालको दृश्य बिरामीले देख्छन् त डाक्टरले बिरामीको। प्रत्यक्ष कुराकानी हुन्छ — डाक्टर र बिरामीको। क्यामरा यति शक्तिशाली छन् कि बिरामीको सानोभन्दा सानो भाग फोकस गरी हेर्न सकिन्छ। जसो भन्छन् डाक्टर त्यसै गर्छन् बिरामी।

टेलिमेडिसिन सञ्चालन गर्न महावीरलाई इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन र एसिया प्यासिफिक टेलिकम्युनिटीले धेरथोर सहयोग गरेका छन्। उनको यो प्रयासले अब दुर्गम गाउँबाट बिरामीरू उपचारका लागि सहरका महँगा अस्पताल धाइरहनुपर्दैन। जटिलभन्दा जटिल रोगको उपचार उनीहरू गाउँमै बसेर पाउँछन्।

'प्रविधिको अधिकतम फाइदा गाउँका मानिसले पाउनुपर्छ,' उनी बताउँदैछन्, 'शिक्षा, व्यापारलगायत क्षेत्रमा बल्ल गाउँका जनताले इन्टरनेटबाट फाइदा लिँदैछन्।'

वाइफाईको प्रभाव गाउँलेमा के–कस्तो पर्‍यो, यो अहिल्यै थाहा पाउन सकिँदैन।

'एनजिओ शैलीमा म गएको छैन,' उनी स्पष्ट पार्छन्, 'यसको प्रभाव दुई–चार वर्षमा देखिँदैन।'

उनलाई लाग्छ — यो प्रविधि सिक्न निकै समय लाग्छ। फेरि नसिकाई पनि हुँदैन। उनी थप्छन्, 'नसिके भविश्यका सन्तान अन्धा हुन्छन्।' यही चिन्ताले उनलाई सताइरहन्छ। यसै कारण उनले स्कुलहरूमा इन्टरनेटलाई परिचय गराएका छन्।

स्कुलमा इन्टरनेट शिक्षाको प्रवेश उनले 'साझा शिक्षा इ पार्टी' संस्थामार्फत गरेका छन्। डडेलधुरा, कपिलवस्तु, मकवानपुर, मुस्ताङ, काभ्रे, ललितपुर गरी ६ जिल्लाका २५ वटा स्कुलका २ हजार विद्यार्थीलाई ल्यापटप दिइएको छ। 'वन ल्यापटप पर चाइल्ड' कार्यक्रममार्फत आएका ती ल्यापटप २, ३ र ६ कक्षाका विद्यार्थीलाई वितरण गरिएको छ। ल्यापटममा पाठ्यक्रममा आधारमा सामग्री तयार पारी राखिएको छ।

'शिक्षकले ल्यापटपमा पढाउँछन्,' उनी भन्छन्, 'विद्यार्थी ल्यापटपमै पढ्छन् र होमवर्क गर्छन्।'

उनी अहिले टाइम टेबल बनाएर हिँड्दैनन्। टाइम टेबलले काम पनि गर्दैन। कति बेला कुन जिल्लाबाट फोन आउँछ, पत्तै हुँदैन। अनि खाँदा–खाँदैको गाँस छोडेर कुद्नुपर्छ। तर सुरुका दिनमा जस्तो भने अहिले उनी कुद्दैनन्। उनलाई सहयोग गर्नेहरू पनि छन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, विभिन्न इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले उनको अभियानलाई सघाइरहेका छन्।

'लौ न हाम्रो गाउँमा पनि वाइफाई भित्र्याउनुपर्यो,' कसैले भने उनी कुदिहाल्छन्। उपकरण र आर्थिक सहयोग सकेको जुटाइदिन्छन्, बाँकी खर्च गाउँलेलाई नै जोहो गर्न आग्रह गर्छन्। जब सबै तारतम्य मिल्छ, उनको काम सुरु हुन्छ।

-------------------------------------------------------------------------------------------------

आफ्नो यो वायरलेस उडान रोक्ने पक्षमा उनी छैनन्। र, उनलाई यो पनि थाहा छ, वायरलेस उडान उनको मुख्य क्षेत्र होइन। मात्र उनको प्रयास हो दुर्गम गाउँमा स्वास्थ्य, शिक्षा र सञ्चार पुर्‍याउने। पैसा उनलाई जीवनमा ठूलो कुरा हो जस्तो कहिल्यै लागेन। त्यसैले पैसाको पछाडि उनी लागेनन् पनि। नत्र उनी नेपाली दुर्गम पहाडमा होइन कुनै विकसित पश्चिमी देशको विश्वविद्यालयमा हुन्थे।

‘पैसा भनेको चाहिन्छ,’ उनी भन्छन्, ‘तर पैसा कमाउन लागिएन, यस्तो सोच पनि आएन।’

अहिले उनी नयाँ योजना बुन्दैछन् — दुर्गम पहाडी ठाउँमा विश्वविद्यालय खोल्ने। उनी थप्छन्, ‘यस्तो विश्वविद्यालय जहाँ गरिबका छोराछोरीले सहज रूपमा पढ्न सकून्।’ यसका लागि उनी बजेट खोजी गर्दैछन्।

विश्वविद्यालयका लागि ठूलो महल खडा गर्ने उनको सपना होइन। बाँसले बारेको, जस्ताले छाएको —साधारण क्याम्पसबाट सुरु गर्ने उनको योजना। यो सञ्चालनका लागि आयआर्जनको स्रोत कसरी खोज्ने भन्ने धुनमा छन् उनी। उनको वायरलेस उडानले यसलाई भरथेक गर्न सक्दैन। उनको प्रमुख चिन्ता भनेको शिक्षकलाई तलब कसरी खुवाउने भन्ने हो।

जलविद्युत र पर्यटन व्यवसाय — विश्वविद्यालय सञ्चालन गर्न उनले देखेका अँगाल्नुपर्ने दुईवटा बाटा।

‘जलविद्युत र पर्यटन व्यवसाय,’ उनी योजना सुनाउँछन्, ‘दुई क्षेत्रमा हात हाल्दैछु।’

पर्यटक डुलाउने नयाँ रुटको खोजी गर्दैछन् उनी। अनि, ४ मेगावाटसम्मको विद्युत योजना। उनी थप्छन्, ‘चार मेगावाटसम्मको एउटा जलविद्युत खोल्न सकियो भने एउटा विश्वविद्यालय सञ्चालन गर्न धेरै सहयोग पुग्छ।’

‘आफ्नो लागि कहिले कमाउने त?’

‘खोई,’ उनी हाँस्छन्, ‘जीवन चलेकै छ।’

‘घरपरिवारले केही भन्नुहुन्न?’

‘म आफ्नै सोच र सुरमा हिँड्छु,’ उनी भन्छन्, ‘यसलाई भनेर केही हुँदैन, चिन्नेले बुझिसकेका छन्।’

उनले पनि बुझेका छन् — जन्मेपछि केही गरे पनि मरिने हो, नगरे पनि मरिने नै हो। थप्छन्, ‘जन्मेपछि केही गर्नुपर्छ।’

sabhar: http://www.nagariknews.com/anniversary-special/12658-2010-04-24-05-56-19.html

Himanchal Education Foundation: http://www.himanchal.org/school-mahabir-pun.html

Nepal Wireless: http://www.nepalwireless.net/



No comments:

Post a Comment