मनोभाव

यसमा मेरो मनमा खेलेका, बुद्धिमा मथेका कुराहरु आफ्नै लागि राख्ने गरेको छु | मैले यहाँ लेखेको कुरो ठिक-बेठिक, साचो-झुठो, सत्य-असत्य जे पनि हुन सक्छ | केहि कुरा समय अनुसार परिवर्तन होलान् भने केहि सदाबहार होलान् | आफ्नो विवेकले हाँस जस्तो भै दुध-दुध पिउनु भएपनि स्वागत्, सबैलाई वाहियात भन्नु भएपनि स्वागत्, केहि लेखि हाल्न मन लागेर लेख्नु भएर आफ्ना डोवहरु राख्नु भए पनि स्वागत्, नलेखी चुपचाप निस्कनु भएपनि स्वागत् | यहाँ झुक्केर अथवा आउनै मन लागेर, जसरि आउनु भएपनि स्वागत् | यहाँहरु सबैलाई मेरो मनोभाव पढ्न स्वागत छ |

Sunday, August 15, 2010

वान्कोवरको यात्रा र घुम्टो ओढेकी सुन्दरी - २: गन्तब्य वान्कोवर

यो पटकको गर्मिमा वान्कोवर घुम्न जाने योजना एक पन्थ दुइ काज गर्ने खालको थियो | त्यसैले पनि यो पटकको भ्रमणमा पहिले भन्दा फरक अनुभूति भै रहेको थियो | कता कता मुटु ढुक्क फुलिरहेको जस्तो लाग्थ्यो, भने घरि घरि टाउको गह्रुङ्गो भएको अनुभव हुन्थ्यो | साथ साथै अलिकति रोमान्चित पनि भएको हो कि जस्तो पनि लग्यो | नढाटिकन भन्ने हो भने मलाई यो अनुभवको दुरुस्त बयान गर्न आएन | यस्तो हुनु अनौठो पनि लागेन | किनकि वान्कोवर घुम्न जानुको एउटा कारण मेरो कनाडाको पर्मानेन्ट रेजिडेन्ट बन्ने प्रक्रियाको अन्तिम चरणलाई पूर्णता दिनु पनि थियो | म आफुलाई आफ्नो देश नेपाललाई निक्कै माया गरेको जस्तो लाग्दथ्यो | आज कता कता मेरो माया खोक्रो हो कि भन्ने पनि भान भै रहेको थियो | हुनत म आज कनाडाको नागरिक नै बन्न गैरहेको हैन | म अझै पनि नेपालकै नागरिक हो र म संग नेपालले नै दिएको पासपोर्ट हुन्छ | आफैलाई सम्झाउन मैले द्वापर युगको सहारा लिए | भगवान कृष्ण पनि आफ्नै आमा देवकी हुदाँहुदै पनि यसोदा आमाको काखमा हुर्किन गएकै हुन् क्यारे | परिस्थितिले भगवानलाई त छाड्दैन रहेछ भने म त निरिह मनुवा | जे होस् म पनि प्रवासी नेपाली बन्ने चरणमा प्रवेश गर्दै थिए | यसै क्रममा म रिनोबाट सियाटल पुगीनै सकेको थिए | आज शुक्रबार अगस्त ६, २०१० का दिन म कनाडा प्रवेश गर्दै थिए |


सियाटलको स्पेस नीड्ल

पोहोर साल आउदा सियाटल घमाइलो भएपनि यो पटक भने बदली लागेको थियो | शितल भन्दा पनि अलि अलि नै चिसो अनुभव हुने खालको तर ज्याकेट वा स्वेटर नै लगाउनु पर्ने खालको भने हैन | बिहान उठेर नित्य कर्म सकेर बिहान साढे नौ बजे तिर हामी वान्कोवर तिर लाग्यौ | सियाटलबाट वान्कोवर १४० माइल उत्तर पर्छ र गुगल को अनुसार त्यहाँ पुग्न २ घण्टा ३३ मिनेट लाग्छ | तर बोर्डेर पुग्न भने त्यस्तै एक घण्टा तीस-चालिस मिनेट जति लाग्दो रहेछ |


अमेरिका तर्फको बोर्डेर

बोर्डेरमा निर्मित गेट

कनाडा तर्फको बोर्डेर

बोर्डेरको इमिग्रेसन अफिसमा कागजी काम सकाईवरी दिउसोको बाह्र-साढे बाह्रबजेतिर हामी कनाडाको राजमार्ग ९९ मा हुइकि रहेको थियौ | बोर्डेरबाट वान्कोवरको यात्रा एक घण्टा मात्रैको थियो | साथी माधब साँझको ६ बजे मात्रै घर आइपुग्ने भएकोले हामी बोर्डेर नजिकैको सहर साउथ सरीको डाउन टाउन तिर लाग्यौ | त्यहाँको बैंकमा कनेडियन डलर साट्यौ | बैंकको ग्राहक नभएकोले उल्टो कनेडियन डलर महगो पर्न गयो मलाई | अझै पनि प्रसस्तै समय भएकोले त्यहि बैंक भएको कम्प्लेक्सको अर्को तिर रहेको Walmart तिर लाग्यौ | त्यहि भित्र भएको McDonald मा फास्ट-फूड को लन्च खायौ | आवश्यक नभए पनि नानु र बाबुलाई लुगा किनियो | त्यस्तै चार बजेतिर वान्कोवरको लागि प्रस्थान गर्यौ | फेरी यहाँ पनि बाटो को जाममा परियो | यहाँको धेरैजसो गाडीहरुको नम्बर प्लेटमा "Beautiful Vancouver" लेखिएको थियो | वान्कोवर पुग्दा त्यस्तै साढे छ बजेको हुदोहो | वहाको घरमा पुगेर यतिकै अलमलमा झमक्कै भैगो त्यसैले "Beautiful Vancouver"लाई भोलि हेर्ने विचार गरेर गफ गर्न मस्त भइयो | भाउजुले बनाउनु भएको थरि थरिका मिठो परिकारहरु खाई वरी पनि राती अबेर सम्म गफ नै गरेर बसियो र ढिलो सुतियो |


साथी माधब बजगाईं बसेको अपार्टमेन्ट

बाँकि फेरी पछी ......

No comments:

Post a Comment